महोत्तरीकाे पिपराका वडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, माघ २७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीकाे पिपरा गाउँपालिका–५ का अध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
उनले आफूले ५४ लाख ६४ हजारमा लिएको ठेक्काको ३५ लाख २१ हजार मात्र कायम गरी सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आज (बिहीबार) विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
वडाध्यक्ष हुनुअघि उनले साबिक सहोडवा गाविस–६ हाल पिपरा गाउँपालिका–५ मा रहेको ठूलो सुब्बा पोखरी ठेक्का लिएका थिए। २०७१ भदौ १ गतेदेखि २०७६ असार मसान्तसम्मको ५४ लाख ६४ हजार सकार गर्ने वडाध्यक्ष यादवले २०७३ माघ ४ सम्ममा जम्मा १९ लाख ४२ हजार मात्र साबिक सहोडवा गाविसलाई बुझाएको अनुसन्धानबाट खुल्न आएको अख्तियारले जनाएको छ।
वडाध्यक्ष भएपछि पदको प्रभाव पारेर उनले कुनै पनि किस्ता रकम नबुझाई आफूलाई गैरकानुनी लाभ पुर्याएर ठूलो सुब्बा पोखरीको ठेक्काबापतको बाँकी ३५ लाख २१ हजार हिनामिना गरेको देखिएको आरोपपत्रमा उललेख छ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।











