खुमलटारमा प्रचण्ड र शेखर कोइरालाबीच भेटवार्ता, निर्वाचन र एमसीसीबारे छलफल
भेटमा स्थानीय निर्वाचन, गठबन्धन र एमसीसी लगायतका विषयमा छलफल भएको बताइएको छ। कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गर्न नसकिने बताएका छन्।
काठमाडौं, माघ २७ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। बिहीबार बिहान खुमलटार पुगेर कोइरालाले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
भेटमा स्थानीय निर्वाचन, गठबन्धन र एमसीसी लगायतका विषयमा छलफल भएको बताइएको छ। कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गर्न नसकिने बताएका छन्।
माओवादी केन्द्रसँग मात्र नभई अन्य दलहरुसँग पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नसकिने नेता कोइरालाले प्रचण्डसँग बताएका छन्। गठबन्धन गरेर कांग्रेसलाई कुनैपनि फाइदा नहुने भएका कारण स्थानीय तहको निर्वाचन एक्लाएक्लै लड्नुपर्ने कोइरालाको भनाई थियो।
उनले निर्वाचन पश्चात पुन गठबन्धन गरेर अगाडि बढ्न सकिने पनि बताए।
त्यस्तै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्टका विषयमा राष्ट्रिय सहमति जुटाउन प्रचण्डलाई आग्रह गरे। तत्काल संसद खुलाएर त्यहीँबाट एमसीसीको समाधान हुनुपर्ने कोइरालाले धारणा राखे।











