कमलपोखरीमा राखिए नौ चैत्य, मेयर-उपमेयरद्वारा विशेष पूजा

काठमाडौं, माघ २६ : आज कमलपोखरीमा ९ वटा चैत्य राखिएका छन्। काठमाडौं महानगरपालिका-१ मा रहेको कमलपोखरीको सौन्दर्य बढाउने गुरुयोजनाअनुसार राखिएका चैत्यहरुको महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित अधिकारीले विधिपूर्वक पूजा गरेका थिए। यसअघि पोखरीमा चैत्य राखिएको थिएन।
पूजापछि प्रतिक्रिया दिँदै मेयर शाक्यले बेसम्भार अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर दुई चरणमा काम गरेको जानकारी दिए। ‘ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने भनेका छन्। त्यसलगत्तै पहिलो चरणमा पोखरी उद्घाटन गर्छौं र दोस्रो चरणको काम थाल्छौं,’ उनले भने, ‘पोखरी सञ्चालनमा आएसँगै बिहान र साँझपख स्वच्छ हावा र हरियालीको मनोरञ्जन लिँदै घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा विकास हुनेछ।’
कोभिड–१९ महामारीका कारण एक वर्षपछि पोखरीको पुनर्निर्माण सम्पन्न भएको हो। शाक्यका अनुसार चैत्यसँगै यहाँको सांस्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरीवरिपरि वृक्षारोपण गर्ने, मठमन्दिरको संरक्षण गर्दै पोखरलाई ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउने पर्यटकको गन्तव्य बनाउने योजना रहेको छ।
कमलपोखरीको पुनर्निर्माण अघि संघीय र प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग लामो छलफल र परामर्श भएको शाक्यले बताए।
यस्तै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफूलाई आनन्द महसुस भएको बताउँछिन्। ‘पोखरी पहिलाभन्दा व्यवस्थित भएको छ।
पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सरोकारवालाहरुको ठूलो सहयोग प्राप्त भएको छ,’ उलले भनिन्, ‘मेरो घर कमलपोखरीनजिकै छ। मेरा लागि पनि बिहानबेलुका स्वच्छ हावा लिँदै हरियालीको आनन्द लिने ठाउँ तयार भयो।’
काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरीमा चारओटा कुनामा आकर्षक र संस्कृति झल्किने चारओटा मण्डप र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँचवटा मण्डप रहने जानकारी दिए।










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

