मध्यराति जेलको गेटमै नेपालको टिकट पाएपछि...
काठमाडौं, भदौ ३१ : कतारमा सहकर्मीको हत्यामा तीन वर्ष जेल सजाय सुनाइएका विनोद रानाभाटको कैद सजाय भुक्तान गर्न अझै दुई महिना बाँकी थियो। उनले पीडित....
काठमाडौं, भदौ ३१ : कतारमा सहकर्मीको हत्यामा तीन वर्ष जेल सजाय सुनाइएका विनोद रानाभाटको कैद सजाय भुक्तान गर्न अझै दुई महिना बाँकी थियो। उनले पीडितका परिवारलाई ८२ लाख रुपैयाँ दिनु थियो।
तर, कतारको समयअनुसार, आइतबार मध्यराति विनोदका लागि चमत्कार भयो। ‘जेलबाट छुट्न ६ जनाको नाम भने। त्यसमा मेरो नाम पनि पारे। विनोद मात्रै बुझे, त्यसपछिको केही बुझिएन। मै हुँला भनेर निस्किँए,’ विनोदले मध्यराति १ बजे कतार जेलको अवस्था सम्झिँदै भने, ‘जेलको गेटमै मेरो राहदानी र नेपालको टिकट हातमा राखिदिए। प्रहरीले नै गाडीमा चढाएर सिँधै एयरपोर्ट पुर्याइदिए।’
उनलाई यो सपना जस्तै लागिरहेको थियो। के भइरहेको छ भन्ने थाहा थिएन्। उनी पनि पत्याउन सकिराखेका थिएनन्।
जब विमानस्थल पुगे, त्यहाँ कार्यरत एक जना नेपालीले भने, ‘तपाई विनोद होइन?’ जेल परेयता विनोदको सामाजिक संजालमा खुब चर्चा भएको थियो। विमोदले तिनै नेपालीको मोबाइल मागेर घरमा फोन गरे, ‘म आउँदै छु। काठमाडौं एयरपोर्टमा आउनुस्।’
बस, त्यसपछि चार घण्टाको जहाज यात्रापछि सोमबार दिउसो काठमाडौं आर्लिए विनोद। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका बुवा उभिइरहेका थिए।
उनलाई देख्ने वितिक्कै बुवाले घप्लक्क अङ्गालो हाले। अनि बल्ल उनले खुशीको स्वास फेरे। ‘बुवा भेटेपछि मात्रै मलाई सपना होइनजस्तो लाग्यो, नत्र मैले के भइरहेको छ भन्ने थाहै पाइरहेको थिइनँ,’ विनोदले काठमाडौंप्रेससँग भने।
उनी सोमबार नै काठमाडौंबाट भरतपुर फर्किसकेका छन्, घरमा। भरतपुर महानगरपालिका–१५ स्थित घरमै रहेका २२ वर्षीय विनोदले मंगलबार पनि काठमाडौंप्रेससँगको कुराकानीमा कसले यो सबै काम ग¥यो भन्ने थाहा नपाएको बताए। ‘अझै पनि मैले केही थाहा पाएको छैन, कसले यो सबै काम गरिदिएको रहेछ,’ उनले भने।
उनी करिब चार वर्ष अघि वैदेशिक रोजगारीमा कतार गएका थिए। त्यहाँको अल ग्रुप क्लिनिङ कम्पनीमा जनरल क्लिनर भएर काम गर्न थालेका थिए। एघार महिनासम्म काम राम्रैसँग चलेको थियो।
तर, त्यसपछि भारतीय युवक उनका सहकर्मी भए। राति शारीरिक सम्बन्ध राख्न खोजेपछि विनोदले प्रतिकार गरे। विनोदको प्रहारबाट भारतीय नागरिक मरे।
त्यहाँको अदालतले उनलाई तीन वर्ष जेल सजाय सुनायो। त्यसँगै भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा दुई लाख ६० हजार कतारी रियल अर्थात नेपाली करिब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने भयो।
परिवारसँग त्यति धेरै पैसा थिएन्। उनले विदेश जादा लागेको ऋणसमेत तिर्न बाँकी नै थियो। ब्लड मनी संकलनका लागि चितवनकै अर्जुन भुसाललगायतको टोलीले ‘विनोद रानाभाट बचाउ’ अभियान चलाए। देशविदेशका नेपालीले सहयोग गर्न थाले। तीन महिनामै एक करोड २१ लाख ४८ हजार रुपैयाँ संकलन भएको अर्जुनले बताए। त्यो पैसा कृषि विकास बैंकमै छ।
३४ महिनाको जेल जीवनपछि सिँधै घर पुगेका विनोदले अब समाजसेवामा लाग्ने बताएका छ। ‘जेल परेपछि मलाई नेपाल फर्कन पाउछु भन्ने लागेको थिएनँ,’ उनले भने, ‘अब मजस्तै दुःख पाएकाहरुको सहयोगमा लाग्नेछु।’