मल नपाउँदा सर्लाहीमा घट्यो आलु उत्पादन
सर्लाही, माघ २५ : गत वर्षका तुलनामा जिल्लामा आलु उत्पादनमा कमी आएको छ। जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक...
सर्लाही, माघ २५ : गत वर्षका तुलनामा जिल्लामा आलु उत्पादनमा कमी आएको छ। जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताइएको छ।
बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपालले भने, ‘विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो। समयमा मल नपाउँदा यसवर्ष पनि झन् कमी आयो। उत्पादित आलुले बजार समेत पाएको छैन।’
प्रतिकिलो रु। २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले रु। १५ मा बिक्री गर्नुपरेको उनले गुनासो गरे। भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको सर्लाहीका किसानको गुनासो छ।
किसानले आलु व्यापारीलाई प्रतिकिलो रु. १६ मा खेतबाटै बिक्री गरिरहेका छन्। वाग्मती नगरपालिका–६ राजघाटका किसान पनिलाल रामले भने, ‘आलु लगाउने समयमा युरिया मलको अभाव भयो।’
जिल्लाको बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शङ्करपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ। यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ।
जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए। जिल्लामा उत्पादन भएको आलु मलंगवा, चपुर, वीरगन्ज र कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दीपक थापा मगरलले जिल्लामा मल अभाव नरहेको बताए।











