कमल थापाले गरे राप्रपा परित्यागकाे घाेषणा
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ उनले भने।
हेटाैंडा, माघ २५ : कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका हुन्। उनी राप्रपाका पूर्वअध्यक्षसमेत हुन्। आज (मंगलबार) हेटौंडामा पत्रकार सम्मेलन गरेर उनले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले भने।
पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको उनले बताएका छन्।
उनले राप्रपाका कसैप्रति आफूले वैरभाव नराखेको पनि उनले स्पष्ट पार्दै उनले विगतमा आफूलाई पुर्याएको सहयोगप्रति सबैलाई धन्यवाद ज्ञापन गरे।
‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहनेछु,’ उनले पत्रकार सम्मेलनमा प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीमा रहँदा बिताएका क्षणहरुप्रति म सदैव गौरव गरिरहनेछु। राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन। भलो होस् भन्ने कामना गर्दछु।
थापाले सोमबार सुकेधारास्थित ओम दुर्गा पार्टी प्यालेसमा आफू पक्षीय नेताहरूको भेला गरेर अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना माग पूरा नभए विकल्प खोज्ने बताएका थिए।
थापाले नयाँ पार्टी खोल्ने गृहकार्य गरिरहेको हल्ला चलिरहेका बेला भेलाले सोही विषयमा छलफल गर्ने चर्चा थियो। तर भेलामा सो विषयमा छलफल नभए पनि आज एकाएक पार्टी परित्याग गरेपछि थापाले नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढाउने आकलन गरिएको छ।
‘हामीले उठाएको सैद्धान्तिक, सांगठनिक र व्यावहारिक मागको विषयमा निराकरण वा समाधान खोज्ने प्रयास भएन भने विकल्प खोज्न बाध्य हुन्छौं,’ भेलालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘स्थानीय तहको चुनावअघि माग सम्बोधन नभए पार्टीभित्र निरीह र लाचार भएर बस्नुपर्ने अवस्था आउँछ।’
शनिबार अध्यक्ष लिङ्देनले आफूलाई भेटेको सन्दर्भ प्रस्तुत गर्दै उनले भनेका थिए, ‘मैले अध्यक्षसँग यिनै विषयमा कुरा उठाएको छु। यही कुरा तपाईंहरूलाई पनि जानकारी गराउन भेला आयोजना गरेको हुँ।’
मंसिरमा सम्पन्न एकता महाधिवेशनमा अध्यक्ष बन्न नसक्दा उनी असन्तुष्ट रहँदै आएका छन्। उनले राप्रपामा निर्मल निवासबाट हस्तक्षेप भएको आरोप लगाउँदै आएका छन्। सो विषयमा पार्टीभित्र छानबिन हुनुपर्ने मुख्य माग उनको थियो।
थापाले पूर्वराजाले राप्रपालाई रिमोर्ट कन्ट्रोलबाट चल्ने दल बनाउन खोजेको आरोपसमेत लगाए। राजतन्त्रको एजेन्डा लिएर अघि बढ्ने हो भने निर्मल निवासको हस्तक्षेप निराकरण हुनुपर्ने उनको भनाइ थियो।
.jpg)









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

