Kathmandu Press

पनौतीमा ६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

काभ्रेपलाञ्चोक, माघ २५ : पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बिमा गरिएको छ।नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा...
पनौतीमा ६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

काभ्रेपलाञ्चोक, माघ २५ : पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बिमा गरिएको छ।

नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो। आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाइएको छ। 

नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरको दायित्व रहेकाले यस वर्षदेखि विपन्न नागरिकको स्वास्थ्य बीमा थालिएको नगरप्रमुख भीम न्यौपानेले बताए। उनका अनुसार उक्त बिमा कार्यक्रमबाट करिब ३ हजार नागरिक लाभान्वित हुनेछन्। 

वडा कार्यालयले विपन्न परिवार पहिचान गरी सिफारिस गरेको आधारमा बीमा गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ। हाल प्रति वडा ५० परिवारका दरले सिफारिस गरिएको छ।

बिमित परिवारले आउँदो फागुन १ गतेदेखि धुलिखेल अस्पताल र बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्ने जनाइएको छ। 

स्थानीय नागरिक, सहकारी संस्था र नगरको सहकार्यमा अन्य आर्थिक अवस्था कमजोर भएका करिब चार हजार परिवारको स्वास्थ्य बीमा गर्ने नगरको योजना छ।

नागरिक र सहकारीको ३३÷३३ प्रतिशत तथा नगरको ३४ प्रतिशत रकमबाट उक्त परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको नगर स्वास्थ्य शाखाले जनाएको छ।

प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्