रुसी र फ्रान्सेली राष्ट्रपतिबीच भेटवार्ता
मस्को, माघ २५ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोबीच मस्कोमा भेटवार्ता भएको छ।सोमबार भएको दुई देशका राष्ट्रपतिबीचको यस भेटका...
मस्को, माघ २५ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोबीच मस्कोमा भेटवार्ता भएको छ।
सोमबार भएको दुई देशका राष्ट्रपतिबीचको यस भेटका क्रममा युरोपको सुरक्षा प्रबन्ध र युक्रेनका विषयमा कुराकानी भएको थियो।
दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्याका साथै युरोपको सुरक्षाका बारेमा पनि छलफल भएको समाचारमा जनाइएको छ।
पुटिनले बेलारुस र ईयू देशको बारेमा कुरा उठाएका थिए। उनले युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी गरेका क्रेमलिनले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उनीहरुका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ। रुस–फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षामन्त्रीबीचको नियमित बैठकको पनि प्रशंसा गरेका थिए।
साथै युक्रेनमा पछिल्लो समय रुसले आक्रमण गर्न सक्ने भन्ने विषयमा पनि कुराकानी भएको अनुमान गरिएको बताइएको छ। युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको छ।
त्यसैले अमेरिका र बेलायतसहितका पश्चिमा देशहरुले रुसले त्यहाँ युक्रेनमाथि हमला गर्न सक्ने बताएका छन्। तर रुसले भने यसको खण्डन गर्दै आएको छ। रुसले अहिले युक्रेनमाथि हमलाको कुनै योजना नरहेको बताउँदै आएको छ।












