धावनमार्गको हिउँ पन्छाएर हवाइ सेवा सञ्चालन
सिमकोट, माघ २५ : हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ।सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको हो।...
सिमकोट, माघ २५ : हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ।
सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको हो। विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षार्थ तैनाथ सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेर हवाई सेवा सञ्चालनमा आएको छ।
पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन सकेको थिएन। हिउँ पन्छाएपछि सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ।
हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत मिलेको छ। नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन्।
यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्नसमेत ढुवानी भएको छ। पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ। (रासस)











