दुई थरिको व्याजदर लागू गर्नुपर्ने बैंक तथा वित्तीय संस्था परिसंघकाे सुझाव

काठमाडाैं, माघ २३ : बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले तरलता समस्या समाधानका लागि अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रण लगाएतका सुझाव दिएको छ।
आइतबार काठमाडौंमा तरलता अभाव सम्बन्धी सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै परिसंघले उत्पादनमुलक र अनुत्पादक क्षेत्रमा दुई थरिको व्याजदर लागू गर्नुपर्ने सुझाव दिएको हाे। प्रतिवेदनमा उत्पादकमुलुक क्षेत्र बाहेक अन्य क्षेत्रमा कर्जा लगानी गर्दा व्याजदर तथा अन्य सेवा शुल्क निर्धारण गर्न बैंक तथा बित्तिय संस्थालाई नै स्वायत्तता प्रदान गर्नुपर्ने उल्लेख छ।
त्यस्तै तरलता अभाव सम्बन्धी सुझावसहितको अध्ययन प्रतिवेदनमा आयातमा थप कडाइ गरि सम्पूर्ण प्रतितपत्रबाट आयातित वस्तुमा शत् प्रतिशत नगद मार्जिन गर्दा केही हदसम्म तरलतामा सहज स्थिति आउन सक्ने जनाएको छ। त्यस्तै प्रतिवेदनमा विप्रेषण आप्रवाहलाई व्यवस्थित गर्नुपर्ने भनिएको छ। कार्यक्रममा अध्ययन कार्यदलका संयोजक उपेन्द्र पौड्यालले रेमिट्यान्सले आयात बढाएको देखिएको बताए। उनले निर्यात बढाउनका लागि राज्यले कुनै नीति अवलम्वन गर्न नसकेको धारणा राखे।
त्यस्तै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्रतिवेदन कोहीप्रति पनि पूर्वाग्रही नभएको बताए। प्रतिवेदनमा वित्तीय क्षेत्रमा देखिइरहने समस्या समाधानका लागि दिर्घकालीन समाधानको उपाय खोजिएको भन्दै सवै मिलेर यस क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताए।
प्रतिवेदनमा १ वर्ष भन्दा मुनिका मुद्दति निक्षेपमा बचत खाताको ब्याजदर भन्दा १ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। यस्तै स्वदेशमै आत्मनिर्भर भइसकेका वा आत्मनिर्भरउन्मुख कृषिलगायतका अन्य वस्तु आयातमा कर बढाउने र आयात प्रतिस्थापन कर लगाउन पनि सुझाव दिइएको छ।











