Kathmandu Press

जब अवार्ड कार्यक्रममा आनन्द घनको नाम बोलाइयो, लता मंगेशकरको राज खुल्यो

लताले आनन्द घनको नामबाट मराठी फिल्म ‘रामराम पाव्हणं’मा संगीत दिइन् । यसको राज तब खुल्यो, एक अवार्ड फंक्सनमा बारम्बार आनन्द घनको नाम बोलाइयो । अन्ततः लता मञ्चमा जानैपर्‍यो ।
जब अवार्ड कार्यक्रममा आनन्द घनको नाम बोलाइयो, लता मंगेशकरको राज खुल्यो

काठमाडाैं, माघ २३ : भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको छ । लता यस्ती गायिका हुन्, जसले भारतीय संगीत इतिहासमा जीवनभर राज गरिन् र गरिरहनेछिन् ।  लतालाई भारतीयहरूले स्वर कोकिला भन्छन्, मायाले ‘लता दिदी’ पनि ।

लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेश भारतमा भएको हो, सानोमा उनको नाम हेमा थियो । उनका पिता दिनानाथ मंगेशकर संगीत र नाटक क्षेत्रका हस्ती थिए । उनले सुरुमा लतालाई संगीत सिकाएका थिएनन् ।

एकपटक दिनानाथका एक शिष्यले बेसुरमा राग गाइरहेका थिए । पिताको अनुपस्थितिमा लताले ती शिष्यलाई भनिन्, ‘यो राग यसरी होइन, यसरी गाउने हो ।’

त्यसपछि उनले गाएर सुनाइन् । उनलाई आफ्ना पिता त्यहाँ छैनन् भन्ने लागेको थियो तर दिनानाथले पछाडि उभिएर सबै नियालेका थिए ।

उनले आफ्नी पत्नीलाई भने, ‘मैले त अरुलाई संगीत सिकाइरहेको थिएँ । एक गायिका त हाम्रै घरमा रहिछन् । त्यसपछि लतालाई पिताले संगीत सिकाउन थाले ।

सानै उमेरमा लताले आफ्ना पितासँग स्टेजमा गाउने गर्थिन् । एकपटक नाटक चलिरहेको थियो, जसमा एक गायक अनुपस्थित थिए । यसले दिनानाथलाई चिन्तित तुल्याएको थियो । लताले पितालाई भनिन्, ‘बुवा, उनी नआए पनि कुनै चिन्ता नलिनुस् । म गाउँछु ।’

दिनानाथलाई आश्चर्य लाग्यो र भने, ‘तिमी यति सानी छौ, तिमीले मसँग स्टेजमा गाउन सक्छ्यौ ?’

लताले भनिन्, ‘हेर्नुस्, मैले दर्शकबाट वान्स मोर पाउनेछु । मलाई एक मौका त दिनुस् ।’

दिनानाथले उनलाई मौका दिए, दर्शकबाट उनले वाहवाही पाइन् ।

लताको आवाजको जादुले फिल्म जगतमा हलचल मच्यायो । यो ठूलो सफलतासँगै लताको जीवनमा पनि उत्तिकै उतारचढाव आए ।

दिनानाथ ठूला ज्योतिषी पनि थिए, उनले सानैमा लताको भविष्यवाणी गरेका थिए, ‘हेर छोरी, तिमी अगाडि गएर यति सफल हुनेछौ कि जसको कसैले कल्पना पनि गर्न सक्दैन । तर तिम्रो सफलता देख्न म रहनेछैन । तिम्रो विवाह पनि हुनेछैन । पूरै परिवारको जिम्मेवारी तिम्रो काँधमा रहनेछ ।’

पिताको छिटै निधन हुन्छ भन्ने लताले कल्पना पनि गरेकी थिइनन् । उनले नसोचेकै भयो, पूरै परिवारको जिम्मेवारी उनको काँधमा आयो ।

त्यसपछि नाटकसँगै उनले फिल्ममा पनि सानोतिनो भूमिका निभाउन थालिन् ।

उनले मास्टर विनायकको कम्पनीमा काम गर्थिन् । पछि विनायककी छोरी नन्दा ठूली कलाकार बन्न पुगिन् ।

लताले परिवारको जिम्मेवारी वहन गर्न जबर्जस्त अभिनय गर्दै थिइन् । उनलाई आफू अभिनय गर्न होइन, गाउन जन्मेको हो भन्ने बोध भइसकेको थियो तर परिस्थिति त्यस्तै थियो । एकपटक सुटिङबाट घर फर्केर लता रुन थालिन् । उनलाई आमाले किन रोएको भनी सोधिन् । लताले आफूले अभिनय गर्न नसक्ने र गाउन मात्रै सक्ने बताइन् । अभिनय गर्नु आफ्ना लागि बनावटी काम भएको पनि उनले बताइन् ।

सुरुमा लताको आवाज मसिनो भएको र प्लेब्याक सिंगिङका लागि उचित नहुने भनिएको थियो । उनका गुरु मास्टर गुलाम हैदरले लताको जस्तो आवाज अरु कसैसँग छैन भनी प्रमाणित गर्ने चुनौती उठाए । मास्टर गुलाम हैदरले एक दिन लताकै आवाज भारतभरि गुञ्जने विश्वासले लतालाई अवसर दिए । लताले एकसे एक ठूला संगीतकारसँग काम गर्न थालिन्— नौशाद अलि,  शंकर जयकिसनका जोडी, मदनमोहन, सलिल चौधरी, रोशन लाल नगरथदेखि आरडी बर्मन, कल्याणजी आनन्दजी, एआर रहमानको संगीतमा संगीतमा उनले गाइन् ।

लता एकलौटी यस्ती गायिका हुन गइन्, जसले गीतको रोयल्टी गायकले पनि पाउनुपर्ने आवाज उठाइन् । निर्माताहरू यसको विरुद्ध भए पनि उनले गीतको रोयल्टी पाउन थालिन् ।

राजकपुरले त यतिसम्म भनेका थिए, ‘मैले तिमीलाई रोयल्टी दिन सक्दिनँ, यहाँ म बिजनेस गर्न आएको हुँ ।’

लताले भनिन्, ‘राजसाहेब, तपाईं बिजनेस गर्न आउनुभएको हो भने म पनि यहाँ रानी बगैँचामा घुम्न आएकी होइन ।’

लतामाथि दबाब थियो, म्युजिक डाइरेक्टर बन्नुपर्ने । तर, उनले अन्य संगीतकारसँग प्रतिस्पर्धा गर्न चाहँदिनथिन् । त्यसैले उनले नाम बदलेर मराठी फिल्म ‘रामराम पाव्हणं’मा संगीत दिइन् । यस फिल्ममा लताले आफ्नो नाम आनन्द घन राखेकी थिइन् । यसको राज तब खुल्यो, एक अवार्ड फंक्सनमा बारम्बार आनन्द घनको नाम बोलाइयो । अन्ततः लता मञ्चमा जानैप¥यो । त्यसपछि यो राज खुल्यो कि आनन्द घन नामबाट संगीत दिने लता नै थिइन् ।

अवार्डका मामलामा लताले कीर्तिमान राखेकी छन् । पद्मभूषण, पद्म विभूषणदेखि भारत रत्नसम्म पाएकी छन् । पछि फिल्मी अवार्डमा लताले नयाँ गायक गायिकालाई दिनुपर्ने निर्णय लिएकी थिइन् । त्यसैले एकपटक बाहेक उनले अवार्ड लिन अस्वीकार गरिन् ।

लतालाई फोटोग्राफीमा पनि सोख थियो । लताले जीवनभर बिहे गरिनन् । बिहे किन नगरेको भन्ने प्रश्नको जवाफमा लताले सधैँ भनिन्, ‘मेरा भाइबहिनीका बच्चा पनि मेरै त हुन् ।’

(एजेन्सीकाे सहयाेगमा)

 

प्रकाशित मिति: १४:१० बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्