प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार, आठ नयाँ मन्त्री नियुक्त
गठबन्धनमा सहभागी सबै दललाई समावेश गरेर ८ नयाँ मन्त्री थपिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
विराटनगर, माघ २३ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले आज (आइतबार) १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्। गठबन्धनमा सहभागी सबै दललाई समावेश गरेर ८ नयाँ मन्त्री थपिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
थप भएका मन्त्रीमा खोनपानी, सिँचाइ तथा ऊर्जामा रामकुमार राई, सामाजिक विकासमा राजन राई, पर्यटन तथा संस्कृतिमा खिनु लङवा (लिम्बू), कृषिमा झलकबहादुर मगरलाई नियुक्त भएका हुन्।
यसैगरी वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी शेखर चन्द्र थापा, उद्योग, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी ओमप्रकाश सरावागी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी प्रतापप्रकाश हांगाम र यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी उपेन्द्र प्रसाद घिमिरेलाई दिइएको छ।
यसअघि मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङबो, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, स्वास्थ्य मन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फे थिए।
सरकारमा अब कांग्रेसबाट पाँच, एकीकृत समाजवादीबाट चार, माओवादी केन्द्रबाट तीन, जनता समाजवादी पार्टी (जसपा) बाट एक र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्री बनेका छन्। मुख्यमन्त्री राई एकीकृत समाजवादीका हुन्।
यसअघि एमाले नेता भीम आचार्य मुख्यमान्त्री थिए। उनलाई हटाएर गत कात्तिक १६ गते कांग्रेस, माओवादी र जसपाका ४९ जना सांसदको समर्थनमा राई मुख्यमन्त्री बनेका थिए।










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

