बेमाैसमी वर्षाले ६० करोड मूल्य बराबरकाे इट्टामा क्षति
काठमाडाैं, माघ २२ : गत बुधबार रातिदेखि परेको पानीले सर्लाही र रौतहटको इँटा उद्योगमा अपूरणीय क्षति पुर्याएकाे छ। लगातार परेको पानीले खेतमा पानी...
काठमाडाैं, माघ २२ : गत बुधबार रातिदेखि परेको पानीले सर्लाही र रौतहटको इँटा उद्योगमा अपूरणीय क्षति पुर्याएकाे छ। लगातार परेको पानीले खेतमा पानी जम्दा करिब ६० करोडको क्षति इँटा व्यवसायीलाई भएको प्रारम्भिक अनुमान गरिएको छ।
सर्लाहीमा एक सय इँटा उद्योग रहेका छन्। तीन दिन लगातार पानी परेर करिब नौ करोड काँचो इँटा पानीले सखाप पारेको सर्लाही इँटा व्यवसायी संघका सचिव भगवान मैनालीले बताए। सर्लाहीमा मात्र वर्षाले करिब २७ करोडको क्षति व्यवसायीले बेहोर्नु परेको सचिव मैनालीको दाबी छ।
रौतहटमा एक सय ६२ इँटा उद्योग रहेका छन्। पानीले सबै इँटा उद्योगमा व्यापक क्षति पुर्याएको छ। रौतहटको इँटा उद्योगमा करिब १५ करोड काँचो इँटा वर्षा र पानीले सखाप भएको रौतहट इँटा उद्योग व्यवसायी संघका अध्यक्ष विनोद जयसवालले बताएका छन्। रौतहटमा करिब चालिस करोड बराबरको क्षति इँटा उद्योगमा भएको अध्यक्ष जयसवालको दाबी छ।
इँटा उद्योगबाट सरकारले ठूलो मात्रामा कर असुल गरिरहेको तर उद्योगको बिमा गर्ने प्रणालीको विकास नगरेका कारण इँटा उद्योगले वर्सेनी ठूलो क्षति बेहोर्दै आएको छ। सानोतिनो पानी पर्दा पनि इँटामा दाग पर्न जाने र इँटाको मूल्य कम हुन जाने हुन्छ। खेतमा पानी जम्ने गरी वर्षा हुँदा काँचो इँटा पूरै गल्ने गरेको र सम्पूर्ण क्षति उद्योगले बेहोर्नु पर्दा धेरै उद्योगी पलायन हुन थालेको व्यवसायीको तर्क रहेको छ।
अहिले बेमौसममा धेरै ठूलो पानी परेकोले इँटा उद्योगमा अकल्पनीय क्षति पुग्न गएको छ। साउने झरीको जस्तो लगातार पानी पर्दा इँटा उद्योगमा सम्हाल्नै नसक्ने गरी क्षति पुगेको व्यवसायीको दाबी छ। आकाशमा बादल देख्नासाथ तर्सिने इँटा उद्योगीले इँटा बनाउने ठाउँमा पानी जमेकाले गलेको इँटा देखेर पुर्पुरोमा हात राख्नु परेको छ। अहिलेको वर्षातले इँटा उद्योग धरासायी हुने सम्भावना बढाएको उद्योगीहरु बताउँछन्।











