दमौली अस्पतालका चिकित्सकले १८ महिनादेखि पाएनन प्रोत्साहन भत्ता
तनहुँ, माघ २२ : सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले २०७७ साउनदेखि प्रोत्साहन भत्ता...
तनहुँ, माघ २२ : सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले २०७७ साउनदेखि प्रोत्साहन भत्ता नपाएका हुन्।
अस्पतालका डाक्टरहरु आस्था रेग्मी, राजु राना मगर, दिवस ढकाल, सुनयन सुवेदी, सिन्चन पाण्डे, पुजा सैजु, प्रशन्न कार्की, अभिनन्दन तिवारी, सञ्जिव भण्डारी, कृष्ण गिरी र सुशील विकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन्।
कोभिड महामारीमा ज्यान जोखिममा राखी गरेको कामको लागि सरकारले जोखिमभत्ता दिने निर्णय गरेपनि अस्पतालमा कार्यरत चिकित्सकले भने भत्ता नपाएको गुनासो गरेका छन्।
काम बापत निरन्तर पाउनुपर्ने तलबभत्ताको लागि बारम्बार ताकेता गर्दापनि अस्पताल विकास समितिबाट मौखिक आश्वासन दिने काम बाहेक अन्य केही हुन नसकेको अस्पतालका डाक्टर सिन्जन पाण्डेले बताए। विगत लामो समयदेखि तलबभत्ता बिना काम गरिरहँदा पनि सुनुवाई नभएकाले चिकित्सक हतोत्साही भएको उनले बताए।
यसैगरी अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सकले गत असोज महिनादेखि तलब पनि पाएका छैनन् । तलब नपाएपनि चिकित्सकहरुले बिना पारिश्रमिक काम गरिरहेका छन्।
तलबभत्ता निकासाका लागि पहल गरिदिन माग गर्दै अस्पतालमा कार्यरत करार चिकित्सकले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । तलबभत्ता उपलब्ध नभएमा दैनिक कामकाज गर्न असमर्थ हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले अस्पतालमा कार्यरत चिकित्सकलाई तलबभत्ता प्रदान गर्न पहल भइरहेको बताए । उनले अस्पतालमा कार्यरत दुई जना विशेषज्ञ डाक्टरको तलब अर्थ मन्त्रालयले निकासा गरेपनि करारमा कार्यरत चिकित्सकको हकमा भने बजेट निकासा नगरिदिँदा समस्या भएको जानकारी दिए।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

