भारतसँग किन रुष्ट छ नेटफ्लिक्स?
नेटफ्लिक्सलाई भारतको सर्वाधिक रुचाइएको स्ट्रिमिङ सेवा बन्नु छ भने ‘विश्वको सर्वाधिक ठूलो स्ट्रिमिङ सेवा’को पगरी छाडेर भारतमा छिर्नु पर्छ। भारतको स्थानीय कथा भन्नुपर्छ, भारतीयको स्ट्रिमिङ साइट बन्न प्रयास गनुपर्छ।
काठमाडाैं, माघ २२ : ‘नेटफ्लिक्सले आफ्ना आगामी १० करोड सब्स्क्राइबर भारतबाट पाउनेछ,’ विश्वको सर्वाधिक ठूलो स्ट्रिमिङ सेवा प्रदायक नेटफ्लिक्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रीड ह्यास्टिङ्सले निकै उत्साह विश्वासका साथ फेब्रुअरी २०१८ मा भारतको दिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा भनेका थिए।
तर, त्यसको तीन वर्षपछि भने नेटफ्लिक्सका संस्थापक ह्यास्टिङ्समा न त त्यो उत्साह बाँकी छ न त विश्वास नै। गत हप्ता कम्पनीका लगानीकर्ता तथा परामर्शदाताबीच भएको अन्तर्क्रिया कार्यक्रममा उनले भारतमा नेटफ्लिक्स सफल हुन नसकेकोमा निकै गुनासो गरे।
‘खुशीको कुरो के छ भने विश्वका सबै ठूला बजारमा हाम्रै कब्जा छ। तर, भारतमा भने सोचेजति सफल हुन सकिएन, यसले मलाई निकै निराश बनाएको छ’, उनले भने, ‘यद्यपी हामी जोडबल लगाउँदै छौं।’
मिडिया सम्बन्धि परामर्शदाता कम्पनी, मिडिया पार्टनर्स एसियाका अनुसार दश करोड हाराहारीमा स्ट्रिमिङ सेवा प्रयोगकर्ता रहेको भारतको स्ट्रिमिङ मार्केट लगभग दुई बिलियन अमेरिकी डलर अथार्त् दुई खर्ब ३५ अर्ब नेपाली रुपैयाँभन्दा बढी रहेको छ।
भारतीय बजारमा कब्जा जमाउने योजना राखे पनि नेटफ्लिक्स आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा धेरै पछाडी छ। भारतमा डिज्नी प्लस हटस्टारका ४ करोड ६० लाख तथा अमेजन प्राइम भिडियोका १ करोड ९० लाख सब्स्क्राइबर रहेको आँकलन गरिएको छ। तर, नेटफ्लिक्सका सब्सक्राइबर भने करीब ५५ लाख मात्र छन्। त्यसैले, ह्यास्टिङ्स रुस्ट हुनु अस्वभाविक होइन।

२०१८ मा नेटफ्लिक्सले भारतमा तहल्का मच्चाएको थियो। ग्याङस्टर सिरिज नेटफ्लिक्समा ‘स्याक्रेड गेम्स’ रिलिज गरेको स्ट्रिमिङ सेवा प्रदायकले छोटो समयमै भारतीय मनोरञ्जन वृत्तमा नयाँ तरंग पैदा गरेको थियो। बलिउडका ‘क’ वर्गका कलाकारले अभिनय गरेको र भारतका दुई नामुद फिल्ममेकरले बनाएको यो थ्रिलर सिरिजले समालोचक र दर्शक सबैको मन जित्दै भारतको फिल्म हेर्ने र भारतले फिल्मलाई हेर्ने शैलीमै परिवर्तन ल्याइदिएको थियो।
‘नेटफ्लिक्सको पहिलो ओरिजिनल सिरिज ‘स्याक्रेड गेम्स’ले हिन्दी फिल्मको मौलिकता, हलिउडको मान्यता तथा सिलिकन भ्यालीको लगानीको संयोजनले नयाँ भविष्यको संकेत मात्र गरेन प्रशस्त सम्भावना रहेको समेत साबित गरेको छ,’ द इकोनोमिस्ट म्यागेजिनले लेखेको थियो।
तर, त्यसबेला यो भनाइ जति यथार्थपरक लाग्थ्यो त्यसपछिका दिनमा यथार्थ भने त्यसअनुरुप हुन सकेन। भारतको मनोरञ्जन बजार निकै ठूलो छ। भारतका २० करोडभन्दा बढी घरमा टिभी छ भने केबल टिभीको मूल्य मासिक ४०० रुपैयाँभन्दा कम छ। भारतीयहरु मनोरञ्जनका लागि फिल्म, खेलकुद र समाचार हेर्न रुचाउने गरेको एक अध्ययनले देखाएको छ।
पछिल्लो समय भारतीयहरुले सत्य घटनामा आधारित शोहरु पनि रुचाउन थालेका छन्। स्क्याम १९९२ को सफलता त्यसको एउटा ज्वलन्त उदाहरण हो। सोनी लिभले निर्माण गरेको शेयर बजारका ‘बिग बुल’ भनेर चिनिने हर्शद मेहताको वास्तविक कथामा आधारित सो सिरिजले भारतमा निकै सनसनी मच्चाएको थियो। त्यसको चर्चा भारतमा मात्र नभएर नेपाललगायत दक्षिण एसियाका सबै देशमा उत्तिकै भएको थियो।
भारतका दर्शकहरुले द्वन्द्वात्मक, अश्लिल गालीहरु बढी प्रयोग भएका, भयानक दृश्य भएका तथा डार्क एवं थ्रिलर किसिमका कार्यक्रम बढी रुचाएको एबन्डन्सिया इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत विक्रम मल्होत्राको ठम्याई छ। ‘परिवारसँग बसेर हेर्न नमिल्ने भद्धा एवं हिंसात्मक शोहरुमा भारतीय दर्शकले रुची देखाइरहेका छन्,’ उनले भने।
नेटफ्लिक्सले भारतीय दर्शकलाई आकर्षित गर्न छुटका विभिन्न प्याकेजहरु पनि ल्याएको थियो। भारतीय दर्शकका लागि ६० प्रतिशतसम्म छुट दिएको थियो भने मोबाइल प्रयोगकर्ताका लागि २४० रुपैयाँमै एक महिनाको प्याकेज समेत उपलब्ध गराएको थियो।
नेटफ्लिक्सले भारतीय बजारलाई लक्षित गर्दै ५० भन्दा बढी फिल्म निर्माण गरिसकेको छ जसमध्ये ३० भन्दा बढी फिल्म हिन्दी भाषामै छन्। जसक्रममा उसले ४७ अर्ब १० करोडभन्दा बढी लगानी गरिसकेको छ। यद्यपी, नेटफ्लिक्स अहिलेसम्म अपेक्षित सफलताभन्दा कोसौं टाढा छ।
नेटफ्लिक्सले भारतीय बजारका लागि बनाएका शोहरु असफल नै भने भएका छैनन्। इन्डियन म्याचमेकिङ, डिकपल्डलगायतका शोहरुले राम्रै चर्चा कमाइरहेका छन्। तर, नेटफ्लिक्सको योजना अनुरुप सफलताका लागि ति पर्याप्त भएनन्।

हेर्नैपर्ने १५ भारतीय स्ट्रिमिङ शोहरुको सूचीमा नेटफ्लिक्सको एकमात्र शो, कोटा फ्याक्ट्री, परेको थियो। नेटफ्लिक्सका अन्य निर्माण दर्शक र बजारको अपेक्षाको कसीमा खरो उत्रिन नसकेको मिडिया परामर्शदाता कम्पनी ओरम्याक्सको ठम्याई रहेको छ।
नेटफ्लिक्सका चर्चित शोहरु सबै अन्य भाषाका छन्। स्क्विड गेम, मनी हाएस्ट, नार्कोस, डार्कलगायतका शोहरुले नेटफ्लिक्सलाई विश्वको अग्रणी स्ट्रिमिङ सेवा प्रदायकका रुपमा परिचित गराएका हुन्। भारतका केही प्रयोगकर्ताले पनि यसलाई रुचाएका छन्।
यी र यस्ता शोहरु आउँदा विश्वभर सनसनी मच्चाएर ट्रेन्डिङ हुन्छन्। तर, भारतीय दर्शकले भने नेटफ्लिक्सलाई यस्तै विश्वचर्चित शोहरुसँग जोडेर विदेशी मानिरहेको इन्डियन एक्सप्रेसका चलचित्र समालोचक तथा स्तम्भकार शुभ्र गुप्ता बताउँछन्।
विदेशी भाषाका शोहरुको सफलताले भारतमा नेटफ्लिक्सलाई विदेशी वा बाहिरी स्ट्रिमिङ साइटका रुपमा मात्र हेर्नेको संख्या ठूलो छ। जसकारण नेटफ्लिक्सले भारतीय शो निर्माणमा अर्बौं लगानी गरेर पनि भारतमा भारतीयहरुको अपनत्व पाउन सकेन। नेटफ्लिक्स विश्वबजारमा पाएको आफ्नै सफलताको शिकार भएको छ।
भारतको स्ट्रिमिङ बजार २०२६ सम्ममा अहिलेभन्दा दोब्बर हुने अनुमान रहेको छ। र, नेटफ्लिक्सको मुख्य लक्ष्य यो बजारको महत्वपूर्ण हिस्सा कब्जा गर्नु हो। तर, लक्ष्य अनुरुप लाखौं नयाँ सब्स्क्राइबर कमाउन नेटफ्लिक्सले आफ्नो रणनीतिमा परिवर्तन ल्याउनुको विकल्प छैन।

नेटफ्लिक्सलाई भारतको सर्वाधिक रुचाइएको स्ट्रिमिङ सेवा बन्नु छ भने ‘विश्वको सर्वाधिक ठूलो स्ट्रिमिङ सेवा’को पगरी छाडेर भारतमा छिर्नु पर्छ। भारतको स्थानीय कथा भन्नुपर्छ, भारतीयको स्ट्रिमिङ साइट बन्न प्रयास गनुपर्छ।
तर यो सहज भने छैन। भारतमा हाल ७५ भन्दा बढी स्ट्रिमिङ सेवाहरु सुचारु छन्। केही चर्चित छन् भने धेरै असफल भएका छन्। गत वर्ष मात्रै भारतीय भाषामा २२५ वटा नयाँ शो रिलिज भएका थिए जसमध्ये १७० वटा हिन्दी भाषामा थिए। तर, यसमध्ये १५–२० वटा मात्र सफल हुन सके।
विकल्प धेरै भएपछि स्वभावतः परीमाण पनि धेरै हुन्छ। परीमाण धेरै भएपछि गुणस्तरीय मात्र चल्छ। नेटफ्लिक्सले भारतमा आफ्नो प्रभाव बढाउनु छ भने धेरै भारतीय शो मात्र बनाएर पुग्दैन, गुणस्तरमा पनि ध्यान दिनुपर्छ।
नेटफ्लिक्सले गत वर्ष मलायलम भाषाको सुपरहिरो चलचित्र ‘मिन्नाल मुरली’ बनाएको थियो। सो चलचित्रको भारतमा मात्र होइन सबैतिरबाट प्रशंसा भएको थियो। भारतमा के चल्छ, के चल्दैन भनेर नेटफ्लिक्सले आफैंबाट केही सिक्न आवश्यक छ।
(एजेन्सीको सहयोगमा)









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

