शिक्षामन्त्री पौडेल र विश्वविद्यालयका पदाधिकारीबीच अस्पताल सञ्चालनबारे छलफल

कास्की, माघ २१ : शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज पोखरा विश्वविद्यालयका पदाधिकारीसँग पोखरामा छलफल गरेका छन। आगामी दुई महिनाभित्र विश्वविद्यालयले सञ्चालनमा ल्याउन लागेको शिक्षण अस्पताल तथा विश्विद्यालयका अन्य शैक्षिक कार्यक्रमका बारेमा नीतिगत छलफल गरिएको हो।
विश्वविद्यालयले पोखरा–३० स्थित खुदीमा शिक्षण अस्पताल सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको छ। विश्वविद्यालयका रजिष्ट्रार दीपक भण्डारीले १०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको जानकारी दिए।
उनका अनुसार सुरुआतमा अस्पतालमा ओपिडी (बहिरङ्ग) र आकस्मिक सेवा सञ्चालनमा ल्याइने र छ महिनाभित्रमा १०० शय्या पूरा गरिनेछ। उनले भने, 'विश्वविद्यालयमा स्वास्थ्य विज्ञानका नर्सिङ, फार्मेसी र ल्याब टेक्नोलोजीका कोर्स सञ्चालन भए पनि आफ्नै अस्पताल नहुँदा अन्य अस्पतालमा लगेर अभ्यास गराउने गरेका थियौँ। अब आफ्नै अस्पताल सञ्चालन गर्न पूर्वाधार तयारी अवस्थामा छ, केही दिनमा चिकित्सकलगायत जनशक्तिको विज्ञापन गर्दैछौँ।'
विश्वविद्यालयले गण्डकी प्रदेश र यस आसपासका क्षेत्रका मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्ने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने बारेमा समेत छलफल भएको रजिष्ट्रार भण्डारीले जानकारी दिए। विश्वविद्यालयसभाले नयाँ विषय र मेडिकल कलेजको सम्बधन दिने विषयमा समेत निर्णय गरिसकेको छ।
छलफलमा मन्त्री पौडेलले भौतिक पूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयमा भन्दा फरक पाठ्यक्रम तयार गरेर बजारको मागअनुसारका विषय अध्यापन गर्न सुझाव दिए। उनले विश्वविद्यालयको शैक्षिक र भौतिक सुधारका लागि कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग थप छलफल गर्ने प्रतिबद्धता जनाए।
मन्त्री पौडेलले भने, 'विश्वविद्यालय सुधारका लागि अन्य विश्वविद्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ। नयाँ योजना र नीतिगत विषयलाई जोड दिनुस्, आवश्यक परे प्रधानमन्त्रीसँग कुरा गर्छु।' छलफलमा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याललगायत सहभागी थिए।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

