हिमपातले कतै सास्ती कतै मस्ती
बिहीबार राति सिमसिमे पानी पर्न थालेदेखि प्रभावित भएको मौसम अझै केही दिन नसुध्रिने मौसमविदहरूले बताएका छन्। एकातिर हिमपात प्रभावित क्षेत्रको जनजीवन कष्टकर बनिरहँदा अर्कातिर आन्तरिक पर्यटकका लागि यही हिमपात रमाउने अवसर बनेको छ।
काठमाडौं, माघ २१ : आज (शुक्रबार) देशका विभिन्न स्थानमा कतै सामान्य त कतै भारी वर्षा हुने क्रम जारी छ। जसका कारण उच्च पहाडी भेगहरू तथा तल्ला पहाडी भेगका अग्लाअग्ला डाँडामा हिमपात भइरहेको छ।
बिहीबार राति सिमसिमे पानी पर्न थालेदेखि प्रभावित भएको मौसम अझै केही दिन नसुध्रिने मौसमविदहरूले बताएका छन्। एकातिर हिमपात प्रभावित क्षेत्रको जनजीवन कष्टकर बनिरहँदा अर्कातिर आन्तरिक पर्यटकका लागि यही हिमपात रमाउने अवसर बनेको छ। अर्थात् हिमपातले कसैलाई सास्ती दिएको छ भने कसैलाई ‘मस्ती’ गर्ने बहाना बनेको छ।
हिमपात भएसँगै देशभरका विभिन्न स्थानमा आन्तरिक पर्यटक रमाउन थालेका छन्। हिउँदे वर्षाका कारण बिरलै हिउँ पर्ने डाँडाहरूमा समेत हिउँले सेताम्मे भएपछि ती ठाउँ झनै रमणीय र मनमोहक बनेका छन्।

काठमाडौं उपत्यकाभित्र चन्द्रागिरी, फुलचोकी, शिवपुरी, नगरकोट, लाकुरी भन्ज्याङ, मालिगाउँलगायत विभिन्न स्थानमा हिउँ परिरहेको छ। ती स्थानमा बिहानदेखि नै आन्तरिक पर्यटकको ओइरो लागेको छ।
बल्लतल्ल आउने अवसरलाई अविस्मरणीय बनाउन भन्दै चिसोको कुनै पर्वाह नगरी साथीभाइ मिलेर हिउँ खेल्न पुगेकाहरू उमंगित भएर रमाइरहेका दृश्य उत्साहजनक देखिएको छ। ‘पोजपोज’का तस्बिर खिच्ने, सामाजिक सञ्जालमा ‘सेयर’ गर्ने, टिकटक बनाउँदै पोस्ट गर्नेहरू पनि हिउँ परेका स्थानहरुमा बग्रेल्ती भेटिए।

त्यसो त यो हिउँदे वर्षा र हिमपातले खेतीपातीका लागि अत्यन्त फाइदाजनक रहेको भन्दै किसानहरू खुसी भइरहेका समाचारहरुले सञ्चारमाध्यममा प्राथमिकता पाएक छन्।
तर यही हिमपात कतिपयका लागि सकसपूर्ण बनेको छ। कतिपय स्थानमा हिमपातका कारण सडक अवरूद्ध भएर सवारीसाधन सञ्चालनमा अवरोध सिर्जना भएको छ। सडक अवरुद्ध हुँदा यात्रु आवागमनसँगै मालवस्तु ढुवानीमा समस्या निम्तिएको छ।
.jpg)
मकवानपुरको सिमभन्ज्याङ र अघोरमा बाक्लो हिउँ पर्नाले हेटौँडा-काठमाडौं यातायात अवरूद्ध भएको छ। त्यस्तै सुदूरपश्चिमा हिमपात भएका कारण दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, डोटीलगायत जिल्लाका भित्री सडक अवरुद्ध बनेका छन्।
बझाङको जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ। सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग, महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

हिमपात प्रभावित क्षेत्रमा विद्युत तथा सञ्चारमा समेत समस्या उत्पन्न भएका समाचारहरू आइरहेका छन्।
रुकुम, रसुवा, डोल्पालगायत धेरै जिल्लामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। बालबालिका, वृद्धवृद्धा, न्यानो कपडाको अभाव झेलिरहेका, कच्ची घर भएकाहरूलाई हिमतात पीडादायी बन्न पुगेको छ।
मानिस मात्र नभएर विभिन्न पशुचौपायालाई पनि हिमपातले बिजोग बनाएको छ।



.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)











![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)