Kathmandu Press

हिमपातले रसुवाको जनजीवन प्रभावित

रसुवा, माघ २१ : बिहीबार रातिको वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ।उत्तरी रसुवामा भारी मात्राले हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि...
हिमपातले रसुवाको जनजीवन प्रभावित


रसुवा, माघ २१ : बिहीबार रातिको वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ।

उत्तरी रसुवामा भारी मात्राले हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय बासिन्दालाई आग्रह गरेको छ।

लाङ्टाङ, बृद्धिम, चन्दनबारी, खैदी, थुमन, नाकथली, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, ग्रे, नेसिङ, राम्चे, यार्सा, सिङ्बन्दी र  लाङ्बु क्षेत्र हिमपातले प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन्। यस्तै लोकिल, धुञ्चे, ठाडे, ठूलोस्याफ्रु, ब्राबललगायत डेढ दर्जन गाउँमा हिमपात भएको बताइन्छ।

वृद्धवृद्धा र  बालबालिकालाई तातोमा राख्न, पोषिला र ताता झोल कुरा खुवाउन  तथा घरभित्रका कोठामा आगो ताप्दा झ्यालढोका  खोल्नसमेत अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताए।

समुद्री सतहबाट एक हजार सात सय मिटरभन्दा माथिका भागमा हिउँ परेपछि चौँरीगाई, भेंडाबाख्रालगायत चौपायाको आहारामा सङ्कट परेको छ। हिमपातको असरले गाउँ– समाजमा कुनै समस्या आएमा तुरून्तै जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयलाई सूचना दिई विपद् व्यवस्थापनमा सहयोग गर्नसमेत हिमपात प्रभावित क्षेत्रका बासिन्दालाई अनुरोध गरिएको सहायक प्रजिअ थापाले बताए।

कुनै पनि विपद् व्यवस्थापनमा उद्धारकर्मी तयार रहेकाले जिल्लास्तरमा तुरून्तै सूचना दिने कामलाई प्राथमिकता दिन जिल्ला विपद् व्यवस्थापन समितिले  सबैमा अनुरोध गरेको छ।  

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्