Kathmandu Press

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवको भेट

काठमाडौं, माघ २० : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईंले भेटवार्ता गरेका छन्। भेटमा...
प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवको भेट

काठमाडौं, माघ २० : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईंले भेटवार्ता गरेका छन्। 

भेटमा उनीहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ। यसैगरी सभामुख अग्निप्रसाद सापकोटा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईंले अलगअलग भेटवार्ता गरेका थिए। ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महाचिव चापागाईंले जानकारी दिए। 

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग महासचिव चापागाईँले बुधबार भेटवार्ता गरेका थिए। आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी संस्था आइएफआरसीका प्रथम नेपाली महासचिव चापागाईं मंगलबार साँझ यहाँ आइपुग्नुभएको हो। नेपाल भ्रमणका क्रममा उनले यहाँस्थित आइएफआरसी र नेपाल रेडक्रसका गतिविधिका बारेमा जानकारी लिने क्रम जारी राखेका छन्।

उहाँले भने, ‘नेपाल रेडक्रसमा देखिएका समस्या मिलेर समाधान खोज्नुपर्छ। अगामी दिनमा रेडक्रलाई अझ व्यवस्थितरूपमा सञ्चालन गर्न रेडक्रस कानुन जारी गर्नु आवश्यक छ। यसका लागि नेपाल सरकारलाई आइएफआरसीले आवश्यक सहयोग पुर्‍याउँछ।’ 

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील ५२ वर्षीय उहाँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए। सो जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल भ्रमण रहेको बताइएको छ।

विश्वका १९२ देश आइएफआरसीका सदस्य छन्। आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एशियाबाटै पहिलोपटक उहाँलाई बहुमतद्वारा सो पदमा निर्वाचित गरेको थियो। बोर्डमा विश्वका शक्तिशाली २९ देश छन्। 

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी पछिल्ला दिनमा कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटिरहेका छन्।

आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई महामारीका बीचमा पनि सहयोग निरन्तर जारी राखेको छ। महासचिव चापागाईँले मानवीय सेवाका क्षेत्रमा पुर्‍याउनुभएको काम तथा नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ। 

नेपाल रेडक्रसका अनुसार आइएफआरसीले कोभिड-१९ को सुरुआती चरणमा कोभिड उपचारका लागि स्वास्थ्य संस्थामा उपकरण तथा स्वास्थ्यकर्मीका क्षमता अभिवृद्धि, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई, मास्क, स्यानिटाइजर सहयोग गरेको थियो भने पछिल्लो चरणमा अक्सिजन कन्सन्टेटर, अक्सिमिटर, थर्मलगन, शव व्यवस्थापनका लागि झोलालगायतका सामग्री तथा खोपका लागि समन्वयसमेत गरेको छ।

प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्