मापदण्डविपरीतका सबै निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई डा. केसीकाे आग्रह
काठमाडौं, माघ २० : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले मापदण्डविपरीतका सबै निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन्।उनले आज...
काठमाडौं, माघ २० : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले मापदण्डविपरीतका सबै निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन्।
उनले आज (बिहीबार) स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा भेटेर केसीले त्यस्तो आग्रह गरेका हुन्। उनले मन्त्री खतिवडालाई सात बुँदे ज्ञापनपत्र पनि बुझाए।
देशभर कुनै गाउँदेखि सहरसम्म पूर्वाधार र पर्याप्त जनशक्तिको व्यवस्थाबिना नै निजी स्वास्थ्य संस्थाहरू च्याउझैं सञ्चालनमा आएको औंल्याएका छन्। त्यस्ता स्वास्थ्य संस्थाबाट बिरामी ठगिने, रोग बल्झिने, अंगभंग हुने बिरामीको मृत्यु हुनेसम्मको अवस्था रहेको पनि उनले बताएका छन्।
‘देशका सबै तहका स्वास्थ्य संस्थाहरूको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरूलाई बन्द गराई दोषीलाई कारबाही गरियोस्,’ उनले ज्ञापनपत्रमार्फत भनेका छन्।
उनले मेडिकल काउन्सिलमा बसेर पदीय मर्यादाविपरीत स्वार्थ समूहहरुको काम गर्ने तथा स्वार्थको द्वन्द्व भएका व्यक्तिहरुलाई पदमुक्त गरी योग्य र निष्पक्ष व्यक्तिहरूलाई नियुक्ति गर्न पनि उनले माग गरेका छन्।
चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुन्डागर्दी अझै जारी रहेकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकलहरुमाथि काडा कारबाहीको माग पनि उनले अघि सारेका छन्।











![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)