Kathmandu Press

गृहमन्त्री खाणले लिए १४ प्रजिअसँग कामको ‘अपडेट’

गृहमन्त्री खाणले १३ जना प्रजिअ तथा एक सहायक प्रजिअसँग टेलिफोनमार्फत् जिल्ला तथा कार्यालयका विभिन्न विषयमा अपडेट लिएका हुन्।
गृहमन्त्री खाणले लिए १४ प्रजिअसँग कामको ‘अपडेट’

काठमाडौं, २० माघः गृहमन्त्री बालकृष्ण खाणले विभिन्न विषयमा १४ जना प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका छन्। गृहमन्त्री खाणले १३ जना प्रजिअ तथा एक सहायक प्रजिअसँग टेलिफोनमार्फत् जिल्ला तथा कार्यालयका विभिन्न विषयमा अपडेट लिएका हुन्।

बिहानको चिया समयमा गृहमन्त्री खाणले प्रजिअहरूसँग टेलिफोन वार्ता गरेका थिए। उनले जिल्लामा कोभिड–१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ संक्रमण, जिल्लाबाट जनताले पाइरहेका सेवासुविधा, कर्मचारीको संख्या पुग–अपुग, थप कर्मचारी पठाउनु पर्छ–पर्दैन, जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ वा छैनलगायतका विषयमा जानकारी लिएका थिए।

गृहमन्त्री खाणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), धर्मेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही)सँग टेलिफोन वार्ता गरेका हुन्। त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा), रामप्रसाद पाण्डे (कञ्चनपुर) र नवलपरासी पूर्वका सहायक प्रजिअ चित्रांगत बरालसँग पनि कुराकानी गरेका थिए।

नवलपरासी पूर्वका सहायक प्रजिअ बरालले गृहमन्त्रीले टेलिफोन गरेपछि काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न ‘मोटिभेसन’ हुने बताए। ‘गृहमन्त्रीज्यूले जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभयो,’ बरालले भने, ‘मन्त्रीज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न मोटिभेसन हुन्छ।’ 

यस्तै, कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सतर्क रहन सिकाएको बताए। ‘सामान्यतया आन्तरिक विषयबस्तुमा महत्वपूर्ण घटना नभई अन्य गृहमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन। अहिले मन्त्रीज्यूले टेलिफोन गर्दा काम गर्न जोस, जागर र सर्तक रहन सिकाएको छ।’ 

यस्तै, पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैले टेलिफोन गर्दा काम गर्ने हौसला बढ्ने बताएका छन्।

प्रकाशित मिति: ११:२१ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्