स्थानीय तहको निर्वाचन घोषणाका लागि दबाब दिने एमालेकाे निर्णय
काठमाडौं, माघ १९ : एमालेले स्थानीय तहको निर्वाचन तत्काल घोषणाका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ।भक्तपुरको गट्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा आज (बुधबार)...
काठमाडौं, माघ १९ : एमालेले स्थानीय तहको निर्वाचन तत्काल घोषणाका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ।
भक्तपुरको गट्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा आज (बुधबार) बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्नेमा जोड दिँदै त्यसका लागि दबाबमूलक कार्यक्रम गर्न काठमाडौंमा केन्द्रीय कार्यालयको व्यवस्थापनमा कार्यकर्ता भेला गर्ने निर्णयसमेत गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
साथै सातै प्रदेशमा पनि भेला गर्ने निर्णय पनि बैठकले गरेकाे छ। बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन पनि दिएको छ।
हालै सम्पन्न भएको राष्ट्रियभसाको निर्वाचनमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई निर्देशन दिएको पनि उनले जानकारी गराए।
प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय पनि भएको छ।
स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय गरिएको पनि जनाइएको छ।
बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ।बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरिएको छ।











