कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अब बस्ने बैठकमा सरकारको समीक्षा हुन्छ : महामन्त्री शर्मा
काठमाडौं, माघ १९ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामबारे समीक्षा हुने बताएका छन्।आज (बुधवार) एक...
काठमाडौं, माघ १९ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामबारे समीक्षा हुने बताएका छन्।
आज (बुधवार) एक कुराकानीका क्रममा उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हुँदै आएका कामलाई अझ सुधार गर्दै सरकारलाई अझै गतिशील बनाउन निर्देशन दिने स्पष्ट पारे।
जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा ध्या दिन पनि सरकारलाई सुझाउने उनले बताए। कोरोनाविरुद्धको खोप अभियानलाई महाअभियानकै रूपमा सञ्चालन गर्न सरकारलाई सुझाव दिइने पनि उनको भनाइ थियो।
पार्टी सबै तहलाई व्यवस्थित बनाउँदै पार्टीका विभागहरू बनाउने दिशामा सरकार अघि बढ्ने जानकारी पनि उनले दिए। विगतमा केपी ओली नेतृत्वको सरकारको असफलता र त्यो सरकारले गरेका संविधानविपरीतका गतिविधिलाई सच्याएर जाने विषय पनि प्रथमिकतामा पर्ने उनको भनाइ थियो। महामन्त्री शर्माले वर्तमान सरकार विशिष्ट परिस्थितिमा निर्माण भएको स्पष्ट पार्दै जनताका सबै अपेक्षा पूरा हुन नसक्ने पनि जानकारी दिए।
संविधानबमोजिम सरकार चलाउनु, संसद्को रक्षा गर्नु, महामारीबाट जनतालाई जोगाउनु र चुनाव सम्पन्न गराउनु सरकारको मुख्य दायित्व भएको र सोअनुसार काम भएनभएको जनताले पनि समीक्षा गर्नुपर्नेमा उनले जोड दिए।
अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीका सबै तहमा कार्यसम्पादन समिति गठन हुने पनि उनले जानकारी दिए। कांग्रेसले हालै ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरिसकेको छ।











