निर्वाचन आयोगले सिफारिस गरेकै मितिमै स्थानीय निर्वाचन हुनुपर्छ : ओली
काठमाडौं, माघ १९ : एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।भक्तपुरको गट्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा आज...
काठमाडौं, माघ १९ : एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।
भक्तपुरको गट्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा आज (बुधबार) बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन आयोगले सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्छ ।'
उनले वर्तमान सरकार संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यान्वयनभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लगाए।
‘संविधानबमोजिम हो भने फागुनभित्रै निर्वाचन गरिसक्नुपर्थ्यो, यस सम्बन्धमा हामीले सरकारलाई पटकपटक ध्यानकर्षण पनि गराएका हौ,’ उनले भने, ‘तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो।’
उनले सरकारमा रहेका पार्टी र तिनका नेताहरुले २०७९ चैतमा निर्वाचन गर्ने भनेर बकवास गरिरहेको आरोपसमेत लगाए।
उक्त सचिवालय बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची छ।
एमालेको दसौं महाधिवेशनबाट पारित विधानअनुसार ओलीसहित १९ पदाधिकारीको सचिवालय रहने व्यवस्था छ।











