Kathmandu Press

नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर अस्पताल र कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी पक्राउ 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नक्कली पीसीआर रिपोर्ट बनाउनका लागि बिचौलियाहरुले प्रतिव्यक्ति दस हजारसम्म असुल्ने गरेको पाइएको छ। नक्कली पीसीआर रिपोर्ट पनि सक्कलीजस्तै क्यूआर कोड स्क्यान गरेर हेर्न मिल्ने बनाइएको पाइएको छ। 
नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर अस्पताल र कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी पक्राउ 

काठमाडौं, माघ १९ : काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र मध्यपुर ठिमीस्थित नागरिक कम्युनिटी हस्पिटलका कर्मचारीहरु नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको पाइएको छ। 

वैदेशीक रोजगारमा जाने व्यक्तिहरुबाट महंगो शुल्क असुल्दै दुई अस्पतालका कर्मचारीहरुले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सार्वजनिक भएको हो। 

महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा ती दुई अस्पतालका कर्मचारीहरुलाई पक्राउ गरेको छ। उनीहरुले व्यक्तिको स्वाब नै नलिई पीसीआर रिपोर्ट बनाउने गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन्। 

पिसिआरको नक्कली रिपोर्ट बनाउने गरेको सूचनाको आधारमा महाशाखाले  मंगलबार नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली पिसिआर परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरेको हो। 

पक्राउ परेका रोशनसँग सोधपुछका आधारमा सोही अस्पतालका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई पनि पक्राउ गरिएको हो। 

महाशाखाको टोलीले नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा कान्तिपुर अस्पतालका नागेन्द्र कुमार यादवलाई पनि पक्राउ गरेको छ। अस्पताल परिसर अगाडिबाट पक्राउ परेका उनको साथबाट १७ थान नक्कली पीसीआर रिपोर्ट समेत प्रहरीले बरामद गरेको छ। 

यादवलाई पक्राउ गरी सोधपुछपछि सोही अस्पतालको ल्याबमा काम गर्ने माधव मैनालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

महाशाखाका अनुसार, सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि. बाट ‘पिसिआर टेस्ट नेगेटिभ’ भनि उल्लेख भएका ४ थान नक्कली पिसिआर परीक्षण रिपोर्ट सहित चार जना ब्यक्तिहरुलाई पक्राउ गरिएको हो । 

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र पिसिआर परिक्षण दर्ता गरिएका रजिष्टरहरु समेत नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । 

दुबै ल्याबका सञ्चालक भने फरार रहेका महाशाखाले जनाएको छ। फरार रहेका ल्याबका सञ्चालकहरु भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजी भइरहेको महाशाखाले जनाएको छ । साथै दुबै अस्पतालका पिसिआर ल्याबहरू सिल गरि पिसिआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएका छन् ।

May be an image of indoor

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नक्कली पीसीआर रिपोर्ट बनाउनका लागि बिचौलियाहरुले प्रतिव्यक्ति दस हजारसम्म असुल्ने गरेको पाइएको छ। नक्कली पीसीआर रिपोर्ट पनि सक्कलीजस्तै क्यूआर कोड स्क्यान गरेर हेर्न मिल्ने बनाइएको पाइएको छ। 

अस्पताल, चिकित्सक र कर्मचारहीको मिलेमतोमा विदेश जान लागेका व्यक्तिहरुले दस हजार तिरेपछि उनीहरुको उपस्थिती र स्वाबविना नै कोरोना नेगेटिभ देखिने रिपोर्ट बनाइने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

पक्राउ परेका व्यक्तिहरुउपर संक्रामक रोग ऐन अनुसार कारवाही हुने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले काठमाडौं प्रेसलाई जानकारी दिए। त्यस्तै नक्कली पीसीआर रिपोर्टमा हस्ताक्षर गर्ने चिकित्सकलाई लिखित कीर्ते मुद्दामा कारबाही हुने बताए। 

प्रकाशित मिति: १३:४० बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्