बुधवार रातीदेखि पश्चिमी वायुको प्रभाव वढ्ने, देशभर पानी र हिमपातको सम्भावना

काठमाडौं, माघ १८ : बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली भएर पानी र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज मङ्गलवार विशेष बुलेटिन निकालेर बुधबार रातिदेखि देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनुका साथै वाग्मती, प्रदेश १, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात र तराईका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाएको हो ।
यो प्रणालीको प्रभाव शनिवारसम्म रहने महाशाखाले जनाएको छ । यस्तै आउँदो आइतवारदेखि क्रमिक रूपमा मौसम सुधार हुनेछ ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।











