आफ्नै साथीले मलाई मार्न यति सम्म गर्ला भनेर सोचेको थिइन : व्यवसायी रायमाझी
.jpg)
काठमाडौं, माघ १८ : सर्लाहीका व्यवसायी अर्जुन रायमाझीले आफूलाई गोली हान्न बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेलले सुपारी दिएको आरोप लगाएका छन् ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रायमाझीले पोखरेलले ३ जना भारतीय सार्प सुटरलाई सुपारी दिएर आफ्नो हत्या गर्न खोजेको आरोप लगाएका हुन् । ‘भारतीय सार्प सुटरलाई लगाएर बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेलले मेरो हत्या गर्न खोजे ,’ रायमाझीले भने । हरिवन बजारको कडरिया चोकमा भारतबाट आएका ३ जना सुटरले आफूलाई गोली हान्ने प्रयास गरेपनि जोगिएको रायमाझीले बताए ।
हरिवन नगरपालिका–११ घर भएका रायमाझीले ‘टार्गेट मिस’ भएपछि सुटरसँगै आएका एकजना युवाले सो योजनाबारे आफूलाई जानकारी दिएको दाबी गरे । योजना चुहिएपछि आफूले विश्वराज सहित ८ जनालाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएको बताए । आफूलाई एउटै स्कुल पढेका विश्वराज पोखरेलले गोली हान्न भारतीय सुटरलाई सुपारी दिएकोबारे उनले भने,‘विश्वराज र म एउटै स्कुल पढेका हौ तर उनी अलि सिनियर हो । मलाई मार्नलाई यति सम्म गर्ला भनेर कहिल्यै सोचेको थिइन् ।’
रायमाझीले विश्वराजको आफन्तको जग्गाको सिमानामा रहेको, विश्वराजका आफन्तले भोगचलन गरेको सम्पत्ति उनीहरुकै सल्लाहमा खरिद गरेको बताए । तर पछि विभिन्न वहाना गरेर विवाद झिकेपछि आफु बाध्य भएर सोही विषयमा अदालत जान बाध्य भएको सुनाए । अहिले मुद्दा विचाराधिन अवस्थामा रहेको पनि जानकारी दिए । तर, आफूलाई मार्नलाई विश्वराजले सुपारी दिएको र मार्ने योजना बनाएको कुरा आफुले कहिल्यै नसोचेको बताए ।
विश्वराजको सबै प्रमाण नबिल बैंकको सिसिटिभिमा कैद भएको जानकारी दिँदै उनले आवश्यकता परे पेश गर्न सक्ने पनि बताए । लेखापाल विश्वराज पोखरेल र उनका आफन्त (भाई) ठेकेदार युवराज पोखरलले आर्थिक चलखेल गर्ने गरेको र आफुलाई मार्ने योजना बनाएको हुन सक्ने उनले बताए ।
दुई जनाको सल्लाहमा युवराजले बोर्डरबाट आफ्नै केहीलाई गाडीको पछाडी राखेर र केहीलाई अर्को गाडीमा सुटरहरुलाई ल्याएको उनले आरोप लगाए । उनले भने,‘सुटरहरुलाई ल्याएर जंगलको होटलमा खाजा खाएको पनि सुन्नमा आएको छ ।
सुटरकै एकजना साथीले मलार्ई त्यसको बारेमा जानकारी दिएको हो ।’ आफू र आफ्नो परिवारको सुरक्षा कायम गर्न माग गर्दै सम्बन्धित निकायमा जानकारी दिएको पनि रायमाझीले सुनाए । ‘











