तनावपूर्ण खेलमा मोरिससविरुद्ध नेपाल विजयी

काठमाडौं, माघ १८ : मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ। मंगलबार दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा नेपालले मोरिससविरुद्ध १–० को जित निकालेको हो।
नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले गोल गरे । उनले खेलको १०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले डिबक्स भित्रबाट आशिष लामाले उपलब्ध गराएको पासमा नजिकैबाट गोल गरेका थिए। सुजलको यो राष्ट्रिय टिममा ६ वर्षपछि गोल गरेका हुन्। खेलमा पछि परेलगत्तै मोरिससले बराबरी गर्ने सुन्दर अवसर खेर फाल्यो।
१२औं मिनेटमा प्राप्त पेनाल्टी नेपालका कप्तान तथा गोलकिपरले उत्कृष्ट बचाउ गरे। दिनेश राजवंशीले मोरिससका खेलाडीलाई डिबक्समा लगाएपछि मोरिससले पेनाल्टी पाएको थियो। खेलको दोस्रो हाफ भने तनावपूर्ण रह्यो। तीन खेलाडीसहित ४ जनाले रातोकार्ड पाएका थिए ।
नेपालका पुजन उपुरकोटीले रातो कार्ड पाएका थिए भने गोलरक्षक प्रशिक्षक विकास मल्लले पनि रातो कार्ड पाएका थिए । यता, मोरिससका दुई खेलाडीले रातो कार्ड पाएका थिए।
योसँगै नेपालले मोरिससविरुद्धका दुवै मैत्रीपूर्ण खेलमा समान १–० को जित निकाल्यो।











