यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्।.jpg)
काठमाडौं, माघ १८ : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेकाे छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद् बैठकले विश्वबैंकबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिने निर्णय गरेको छ। सोको लागि वार्ता टोली गठन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए।
त्यस्तै भोलि बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ।
यस्ता छन् थप निर्णयहरु :
१. विश्ववैंकबाट फाइनान्स फर ग्रोठ डेभलपमेन्ट पोलिसी क्रेडिटवापत प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने।
२. तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनको लागि जग्गा प्राप्तीसम्बन्धी प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने।
३. २०७८ साल माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसस्थाहरुमा सार्वजनिक बिदा दिने।
४. मालपोत कार्यालय र नापी कार्यालय सिमरा बाराको कार्यक्षेत्रमा पर्ने साविक गाविसहरु बुनियाद, रामपुर कोटनी तथा लिपनीमालको कार्यक्षेत्र भूमिसुधार तथा मालपोत कार्यालयको कार्यक्षेत्र भुमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय कैलालीको कार्यक्षेत्रमा समावेश गर्ने ।
५. मालपोत कार्यालय र नापी कार्यालय चितवनको कार्यक्षेत्रभित्र पर्ने साविक हाजीपुर गाविसलाई मालपोत कार्यालय र नापी कार्यालय खैरेनीको कार्यक्षेत्रमा समावेश गर्ने।
६. दार्चुलाको तुसारापानीदेखि कोठाघरसम्मको चार किलोमिटर सडकखण्डको ट्र्याक निर्माण कार्य नेपाली सेनाबाट गर्न स्वीकृत प्रदान गर्ने।
७. नेपाल खुला विश्वविद्यालयको उपकुलपति पदमा प्राध्यापक शिलु मानन्धर (काठमाडौं) लाई नियुक्त गर्ने ।
८. शिक्षक अस्पताल स्थापनाको लागि आवश्यक प्रकृया अगाडि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती प्रदान गर्ने।
९. सफा हिमाल अभियान २०२२ मा खटिने नेपाली सेनाका सदस्यहरु हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गार्बेज धरौटीवापतकाृे रकम छुट दिने।
१०. अर्थमन्त्रालयका सहसचिव श्री रामेश्वर दंगाललाई निजामती सेवाको राजपत्रांकित विशिष्ठ श्रेणीमा बढुवा गर्ने।
११. लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवासमूहका राजपत्रांकित द्वितिय श्रेणीका कर्मचारीहरुलाई राजपत्रांकित प्रथम श्रेणीका सहसचिव वा सोसरहको पदमा बढुवा÷ नियुक्ति गर्ने।
१२. कच्चा दुधको न्यूनतम मूल्य ५६ रुपैया ४ पैसा निर्धारण गर्ने ।
१३. जाजरकोटका समिरजंग शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा बढीमा चार वर्षका लागि नियुक्त गर्ने।











