Kathmandu Press

भरतपुर अस्पतालमा प्रसुती सेवा लिनेको चाप बढ्यो, शैय्या व्यवस्थापनमा कठिन

भरतपुर अस्पतालमा प्रसुती सेवा लिनेको चाप बढ्यो, शैय्या व्यवस्थापनमा कठिन

चितवन, माघ १८ : प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि शैय्या अभाव हुन थालेको छ।  शैय्याको सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो। 

चितवन र छिमेकी जिल्लाका महिलाको प्रसूतिको पहिलो चाहना भरतपुर अस्पताल हुने गर्दछ । गर्भवतीले परीक्षण निजीमा गर्दै आए पनि बच्चा जन्माउन भने भरतपुर अस्पताल आउने गर्दछन् । अन्यत्र काम गर्ने चिकित्सकले समेत प्रसूति सेवा लिन भरतपुर अस्पताल आएको पाइन्छ । 

अस्पतालमा साउनयता पुस मसान्तसम्म सात हजार १९८ जना आमाले शिशु जन्माइसकेका छन् । गत वर्ष भरमा यो सङ्ख्या नौ हजार ७६६ थियो । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल दैनिक ४० देखि ४५ जनाले यहाँ बच्चा जन्माउने गरेको बताउँछन् । तीमध्ये ३० देखि ३३ प्रतिशतको शल्यक्रिया गरेर बच्चा झिक्ने गरिएको छ । गत वर्षभन्दा यो वर्ष सङ्ख्या निकै बढेको भन्दै उनले यस वर्ष १२ हजारभन्दा बढीले सेवा लिने देखिएको बताए। 

बच्चा जन्माइसकेका आमाहरु ठाउँ अभावमा भुइँमा बस्नुपर्ने बाध्यता रहेको छ । पोख्रेल भन्छन्, ‘अहिले दैनिक १०÷१५ जना भुइँमा सुत्न बाध्य छन् ।’ अस्पतालमा १५० शय्या प्रसूतिका लागि छुट्याइएको छ । शल्यक्रियापछि राख्ने पोष्टअपमा १२ शय्या प्रसूतिका लागि छ । यससँगै १६ वटा मेडिकल क्याबिन भएको पोख्रेल बताउनुहुन्छ । उनले थपे, ‘बिरामीको चाप बढी भएका कारण सुत्केरी भइँमा सुत्न बाध्य रहेका छन् ।’ चाहेर पनि  शैय्यामा राख्न नसकिएको उनको भनाइ छ । 

शल्यक्रिया गरेकालाई भुइँमा राख्न नमिल्ने हुँदा सामान्य अवस्थामा सुत्केरी भएकाहरुलाई भुइँमा राखिन्छ । शल्यक्रिया गरेकाहरुलाई सात÷आठ दिनसम्म राख्नुपर्ने हुँदा शैय्याको अभाव हुने गरेको हो । कोभिड प्रकोपसँगै पछिल्ला महिनाहरुमा १५ देखि २० जना सङ्क्रमितको प्रसूति यहाँ हुने गरेको छ । तीमध्ये ३० प्रतिशत हाराहारीलाई शल्यक्रिया गर्ने गरिन्छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्ण पौडेल प्रसूति गर्नेहरुको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको भन्दै सोचेजस्तो व्यवस्थापन गर्न अझै नसकिएको स्वीकार गर्छन । १६ जना विशेषज्ञ चिकित्सकसहित १२५ हाराहारीमा स्वास्थ्यकर्मी र कर्मचारी यो विभागमा कार्यरत छन् । डा पौडेलले भने, ‘अस्पतालमा छुट्टै प्रसूति गृह आवश्यक रहेको छ ।’ अस्पतालले प्रसूति सेवामा राम्रो सेवा दिनका लागि आवश्यक गृहकार्य भइरहेको उनले जानकारी दिए। पौडेलले थपे, ‘सङ्घीय अस्पताल भएकाले चितवनसहितका छिमेकी जिल्लाका महिलाहरुका लागि प्रसूति सेवाको केन्द्र बनेको छ ।’ अस्पतालले छुट्टै प्रसूति गृह निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम अघि बढाएको छ । सुरुमा सुविधासम्पन्न ५० शय्या र थप गर्दै लैजाने गरी प्रसूति गृह निर्माण गर्न लागिएको उहाँको भनाइ छ । सरकार र विकास समितिको संयुक्त लगानीमा भवन निर्माण गर्न लागिएको हो। 

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले निजी अस्पतालमा जाँदा सामान्य प्रसूतितर्फ ध्यान नै नदिएर शल्यक्रिया गर्ने गरेकाले भुइँमा नै सुत्नु परे पनि भरतपुर अस्पताल आउन रुचाउने गरेको बताउँछन्। उनको भनाइमा अस्पतालमा चिकित्सकसँगै लामो अनुभव भएका स्वास्थ्यकर्मी रहेकाले धेरैले सामान्य तरिकाले बच्चा जन्माउने गरेका छन् । उनले भने, ‘प्रसूतिमा हाम्रो अस्पतालमा जस्तो अनुभवी अन्यत्र कहीँ छैनन् ।’ भरतपुर अस्पतालमा २४ घण्टामा ८५ जनासम्मले बच्चा जन्माएको तथ्याङ्क रहेको छ । यसमध्ये ४२ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो । यसैवर्ष पनि ७० जनासम्मको प्रसूति गराइएको अस्पतालले जनाएको छ । गतवर्ष कोभिडका कारण प्रसूति गराउनेको सङ्ख्या घटेको थियो। 

भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा तीन लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ। अस्पतालमा ६०० शय्या छन्।  

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्