एमसिसीबारे रावलको खुला स्मृतिपत्र : ओलीले ‘सत्तापक्ष स्पष्ट नभई केही नबोल्ने’ भन्नु अवसरवादी चरित्र
काठमाडौं, माघ १७ : एमाले नेता भीम रावलले अमेरिकी सहायता परियोजना (एमसिसी) बारे केपी ओलीले ‘सत्तापक्ष स्पष्ट नभई केही नबोल्ने’ भन्नु अवसरवादी कुरा भएको...
काठमाडौं, माघ १७ : एमाले नेता भीम रावलले अमेरिकी सहायता परियोजना (एमसिसी) बारे केपी ओलीले ‘सत्तापक्ष स्पष्ट नभई केही नबोल्ने’ भन्नु अवसरवादी कुरा भएको बताएका छन् ।
प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा आज (सोमबार) खुला स्मृतिपत्र जारी गर्दै उनले प्रधानमन्त्री र पाँचदलीय गठबन्धनका नेताहरूले एमसिसीसँगको सम्झौताका सन्दर्भमा देशभक्त नेपालीहरूले राष्ट्रियताको पक्षमा देशव्यापी रूपमा घन्काइरहेको आवाजप्रति संवेदनशील भई कुनै छलफल नगरेको आरोप पनि लगाएका छन्।
देश र जनताको आवाज उठाउने संसद निरन्तर ‘अवरुद्ध’ गरेर सत्तापक्षर प्रतिपक्षको मिलेमतो गरी संसदबाट सम्झौता पारित गराउने खेल भइरहेको दाबी पनि उनले गरेका छन्।
उनले ‘आजसम्म कुनै पनि देशसंग भएका अनुदान सम्झौता संसदमा अनुमोदनका लागि पेस भएको वा पारित गरिएको अवस्था नरहेको उनले जिकिर गरेका छन्।
‘यदि यो सम्झौता संविधानको धारा २७९ अन्तर्गत अनुमोदन गर्नुपर्ने हो भने दुई तिहाइ बहुमतको आवश्यकता हुन्छ,’ उनले भनेका छन्, ‘नेपालले अन्य देशहरुसँग पनि पूर्वाधार विकासको लागि ठूलो रकम ऋण र अनुदान लिने गरेको छ। अरु देशले पनि अब उप्रान्त सम्झौता नेपालको संसदबाट अनुमोदन हुनुपर्ने माग गरे के हुन्छ? यसको उत्तर नेपाली जनतालाई दिनुपर्छ कि पर्दैन?’
एमसिसी सम्झौता हस्ताक्षरको चरणदेखि नै दुई स्वतन्त्र सार्वभौम देशहरूका बीचमा पारस्परिक सम्झौता र हितमा अधारित नभई असमान रहेको उनको भनाइ छ। ‘विगतका सम्झौता पुरावलोकन गरी समानता र पारसपरिक हितका आधारमा सम्झौता गर्ने संवैधानिक प्रतिबद्धताविपरीत अहिले आएर असमान सन्धिसम्झौता गर्न अग्रसर हुनु राजनीतिक अनैतिकता ठहरिन्न र?’ उनले भनेका छन्।











