Kathmandu Press

सदगुरु, जो २५ मिनेट ध्यानमा बस्दा १३ दिन बित्यो

एकपटक उनी यसरी नै एक ठाउँमा २५–३० मिनेट बसेका थिए । तर उनको आँखा खुल्दा १३ दिन बितेको थियो । यसबारे उनले प्रवचनका सिलसिलामा भनेका छन्, ‘मैले आँखा खोल्दा थुप्रै मानिस जम्मा भएका थिए ।
सदगुरु, जो २५ मिनेट ध्यानमा बस्दा १३ दिन बित्यो

काठमाडौं, माघ १७ : भारतीय योगी सद्गुरुको प्रवचन युट्युबमा खुबै हेरिन्छ । सद्गुरुको वास्तविक नाम जग्गी वासुदेव हो । यिनी लेखक पनि हुन्, सयभन्दा बढी पुस्तक प्रकाशित छन् । पछिल्लो समय यिनलाई प्रेरणादायी वक्ता (मोटिभेसनल स्पिकर)का रूपमा पनि लिने गरिन्छ । 

अंग्रेजी साहित्यमा स्नातक गरेका सद्गुरुले अंग्रेजी भाषामै प्रवचन दिने गर्छन् । उनले अंग्रेजीमा दिएका प्रवचनलाई हिन्दीमा अनुवाद गरिएका पनि छन् । यिनका प्रवचन सुन्नेहरु नेपालमा पनि बढेको पाइन्छ ।

सद्गुरुको जन्म भारत कर्नाटकको मैसुरमा एक तेलुगु परिवारमा भएको हो, ३ सेप्टेम्बर १९५७ मा । यिनी सानैदेखि प्रकृतिप्रेमी थिए । प्रकृतिका हर कुरालाई उनले ध्यानपूर्वक हेर्थे । छोरो साना कुरामा घोत्लिएको देखेपछि पिताले चिन्ता गरेका थिए । ११ वर्षको उमेरमा यिनले योग सिक्ने अवसर पाए । यिनका योग गुरु थिए, राघवेन्द्र राव, जसलाई मानिसले मल्लाडिहल्ली स्वामी नामबाट चिन्थे । 

मैसुरबाटै यिनको औपचारिक शिक्षा सुरु भयो र मैसुर विश्वविद्यालयबाट यिनले अंग्रेजी साहित्यमा स्नातक गरे । उनको एउटा सोख थियो, मोटरसाइकलमा यात्रा गर्नु । यिनले मोटरसाइकलमा भारतका थुप्रै ठाउँको भ्रमण गरेका छन् । भ्रमणका लागि पैसा चाहिने महसुस गरेर उनले व्यापार गर्न सुरु गरे । व्यापारबाट उनलाई सफलता मिलिरहेकै थियो तर २५ वर्षको उमेरमा उनलाई केही यस्तो भयो, जसले उनको जिन्दगी बदल्यो । 

यिनी मैसुरकै चामुन्डी हिलसम्म टहलिन निस्केका थिए, २३ सेप्टेम्बर १९८२ मा । त्यहाँको एक चट्टानमा योगासनमा बस्दा उनले आध्यात्मिक अनुभव गरे । उनले एक प्रवचनमा भनेका छन्, ‘मलाई थाहा थिएन कि म को हुँ र को होइन । अचानक जो म थिएँ, त्यो सबै जग्गामा थियो । म त्यहाँ १०–१५ मिनेट बसेँ भन्ठानेको थिएँ, तर साढे चार घन्टा बितेको रहेछ ।’

No description available.  

उनले जे अनुभव गरे, यो उनको नितान्त व्यक्तिगत अनुभव हो । यस्तो अनुभव आफूले नभोगेसम्म अर्काले भनेको सुन्दा अनौठो, रमाइलो र प्रेरणादायी पनि लाग्न सक्छ । 

उनको हकमा यस्ता घटना पटकपटक दोहोरियो । एकपटक उनी यसरी नै एक ठाउँमा २५–३० मिनेट बसेका थिए । तर उनको आँखा खुल्दा १३ दिन बितेको थियो । यसबारे उनले प्रवचनका सिलसिलामा भनेका छन्, ‘मैले आँखा खोल्दा थुप्रै मानिस जम्मा भएका थिए । माला चढाएका थिए । कसैले खुट्टा छोइरहेका थिए । कसैले मेरो व्यापार–व्यवसाय के हुन्छ भनी मसँग सोधिरहेका थिए । कोही जान्न चाहिरहेका थिए कि मेरी छोरीको विवाह कहिले हुन्छ ? यस्ता सबै चिज जोसँग मेरो कुनै रुचि थिएन, जुन चिजलाई मैले घृणा गर्थें, त्यही कुरा मेरो वरपर भइरहेको थियो । त्यसपछि आसपासको भीडबाट बच्न म कतै टाढा जानुप¥यो । यसरी नै मैले भूत, वर्तमान र भविष्य मिश्रित भएको पाएँ ।’ 

त्यसपछि उनले सबै व्यापार छाडेर १९८३ देखि योग सिकाउन थाले । १९९३ मा आएर उनले इशा फाउन्डेसन खोले, त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । 

विवाद

सद्गुरुले जीवनमा थुप्रै विवाद झेल्नुपरेको छ । यिनको विवाह १९८४ मा विजयाकुमारीसँग भएको थियो । विजयाकुमारीको सन् १९९७ मा मृत्यु भयो । विजयाकुमारीको दाहसंस्कार उनका पिता आउनुभन्दा अघि नै सद्गुरुले गरेका थिए । त्यसैले विजयाकुमारीका पिताले सद्गुरुमाथि हत्याको आरोप लगाएर प्रहरीमा उजुरी दिएका थिए । सद्गुरुले भने पत्नीको महासमाधि भएको बताउने गरेका छन् । वास्तवमा विजयाकुमारीको हत्या भयो वा समाधि ? यी दुवै कुराको कुनै प्रमाण छैन ।

No description available.

तमिलनाडुको कोयम्बटुर (कोवई)स्थित इशा फाउन्डेसन आदिवासीको जमिन कब्जा गरेर अवैध तरिकाले निर्माण गरेको भन्ने विवाद छ । 

यहाँ ११२ फिटको शिवको अर्धमूर्ति बनाइएको छ । जसको उद्घाटन २४ फेब्रुअरी २०१७ मा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । विवादित जग्गामा बनाइएको मूर्तिको उद्घाटनमा नजान मोदीलाई आग्रह गर्नेहरु पनि थिए । 

त्यस्तै, इशा फाउन्डेसनलाई मुनाफारहित संस्था भनिन्छ, तर यहाँ ७ देखि १५ दिनको कोर्स हुने गर्छ, यो कोर्स लिनका लागि पैसा तिर्नुपर्छ ।  तर, यसको कर उनले छलेको भन्ने पनि प्रश्न उठेको थियो । 

सद्गुरुले २०१७ मा पद्म विभूषण पनि पाएका छन् । 
 

प्रकाशित मिति: १५:११ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्