लिङ्देनलाई थापाको चेतावनी : सबै पक्षलाई नसमेटे पार्टी दुर्घटनामा पर्न सक्छ
आइतबार अध्यक्ष लिङ्देनलाई पत्र लेख्दै थापाले पार्टीलाई दुर्घटनाबाट जोगाउन नेतृत्वले सबैलाई समेट्नुपर्ने भन्दै यस्तो चेतावनी दिएका हुन् । उनले पार्टीको कार्यक्रमहरूबाट आफूलाई अलग्याउने काम भइरहेको समेत गुनासो पोखेका छन् ।
काठमाडौं, माघ १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले सबै पक्षलाई नसमेटे पार्टी दुर्घटनामा पर्नसक्ने चेतावनी दिएका छन् ।
आइतबार अध्यक्ष लिङ्देनलाई पत्र लेख्दै थापाले पार्टीलाई दुर्घटनाबाट जोगाउन नेतृत्वले सबैलाई समेट्नुपर्ने भन्दै यस्तो चेतावनी दिएका हुन् । उनले पार्टीको कार्यक्रमहरूबाट आफूलाई अलग्याउने काम भइरहेको समेत गुनासो पोखेका छन् ।
उनले आइतबार अध्यक्ष लिङ्देनलाई पठाएको ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘मैले मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न र त्यसबारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुन पठाएको छ ।’
थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको विरोध गर्नु राजसंस्थाप्रतिको विरोध नभएको पनि बताएका छन् । उनले धम्कीपूर्ण भाषामा भनेका छन्, ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।’