Kathmandu Press

‘विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन’

काठमाडौं, माघ १६ : अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन भएको बताएका छन्।अर्थतन्त्रका जानकारहरूसँग आज (सोमबार) भएको  छलफलमा...
‘विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन’

काठमाडौं, माघ १६ : अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन भएको बताएका छन्।

अर्थतन्त्रका जानकारहरूसँग आज (सोमबार) भएको  छलफलमा उनले उक्त कुरा बताएका हुन्। ‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको अभाव छ,’ मन्त्री शर्माले भने, ‘नीतिगत अभाव र जटिलताले विकासमा बाधा उत्पन्न भएको छ।’

उनले संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनाका कारण अहिले अर्थतन्त्रमा समस्या देखापरेको बताए।  

सबै समस्याहरूको जड राजनीति भएको बताउँदै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता रहेको, उनीहरूमा मुलुक सुहाउँदो स्पष्ट अर्थनीति  बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था आएको वास्तविकता प्रस्तुत गरे।

‘वास्तवमा अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरूको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो,’ उनले भने, ‘नेपालको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल अर्थनीतिको स्पष्ट राजनीतिक खाका आवश्यक छ।’

छलफलका सहभागीहरूले तथ्याङ्कका आधारमा मुलुकको अर्थतन्त्र विषम नभए पनि यसलाई थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न तथा विदेशी मुद्रा सञ्चितिका लागि भुक्तानी सन्तुलन कायम नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन सुझाए।

कृषि उत्पादकत्व वृद्धि, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधारलगायत अर्थतन्त्रलाई चलायमान तुल्याउँदै पुँजीगत खर्च बढाउनुपर्नेमा उहाँहरूले जोड दिए। 

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा। शङ्कर शर्मा र डा. मीनबहादुर श्रेष्ठ, प्रा.डा. विश्वम्भर प्याकुरेल, भारतका लागि पूर्वराजदूत डा. दुर्गेशमान सिंह, अर्थराजनीतिक विश्लेषक हरि रोका, डा. रामकुमार फुयाँलले भाग लिएको थिए। 

प्रकाशित मिति: १७:५८ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्