Kathmandu Press

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव : प्रधानमन्त्री

काठमाडौं, माघ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन...
सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव : प्रधानमन्त्री

काठमाडौं, माघ १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्। 

सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताए। 

सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखे।

सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्दै सच्चा सहिदको अभिलेख तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

प्रधानमन्त्रीले भने, ‘मुलुकको अबको गन्तव्य भनेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकलन्त्र र संघीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लाने हो।’

सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सहिदको योगदानले नै देशमा प्रजातन्त्र स्थापन सम्भव भएको धारणा राखे। महामारीका कारण सो कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्य सचिव शंकरदास बैरागीलगायत अन्य केही सीमित उच्चपदस्थ अधिकारी मात्र उपस्थित थिए।  

कोरोना महामारीका कारण यस वर्ष प्रभातफेरी कार्यक्रम गरिएन। लैनचौरको सहिद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम गरेर सहिद सप्ताहको समापन गरियो।

सहिद सप्ताहको पहिलो दिन यही माघ १० गते सीमित व्यक्तिको सहभागितामा शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो। काठमाडौंको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन्। 

सहिद सप्ताहका अन्य कार्यक्रम यही माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको सालिकमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा सीमित पदाधिकारी उपस्थित भएर सालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइयो।

कामपाले हरेक वर्ष माघ १० देखि १६ सम्मलाई विभिन्न कार्यक्रम गरी सहिद सप्ताह कार्यक्रम मनाउँदै आएको छ। 

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्