कास्कीमा मात्रै २२७ सङ्क्रमित थपिए
कास्की, माघ १५ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना सङ्क्रमित कास्कीमा थपिएका छन्। प्रदेशअन्तर्गत विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पिसीआर परीक्षणमा कास्कीमा २२७ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।
उनका अनुसार यस अवधिमा प्रदेशमा कूल ५१६ सङ्क्रमित थपिएकामा तनहुँमा ७१, म्याग्दीमा ४९, स्याङ्जा र बागलुङमा ३९–३९, नवलपरासी पूर्वमा ३८, लम्जुङमा २५, पर्वतमा १५ र गोरखामा १३ जना छन्। यस अवधिमा प्रदेशमा ७०२ जना निको भएका छन् भने होमआइसोलेशनमा छ हजार ९८५ जना रहेको निर्देशनालयले जनाएको छ।
माघ मसान्तसम्म शैक्षिक संस्था सञ्चालन गर्न नपाइने
यसैबीच कास्की जिल्लामा आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शुक्रबार जारी गर्नुभएको आदेशमा जिल्लामा कोरोना सङ्क्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको उल्लेख गर्दै विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्था भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भनिएको छ।
त्यस्तै सिनेमा हल, डान्स बार, दोहोरीलगायत मानिस भीडभाड हुने सबै कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ। सबै प्रकारका आमसभा, जुलुसमा पनि प्रशासनले रोक लगाएको छ।