पिलातुं त्वाः छेंःकाे शिलान्यास गर्दै मेयर शाक्यले भने– सांस्कृतिक परम्परा जाेगाउन महानगर प्रतिबद्ध
काठमाडौं, माघ १५ : काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २७ बेखालाछी मार्गमा पिलातुं (त्यः र) को शिलान्यास गरेका छन्।आज (शनिबार) मेयर शाक्यले असन...
काठमाडौं, माघ १५ : काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २७ बेखालाछी मार्गमा पिलातुं (त्यः र) को शिलान्यास गरेका छन्।
आज (शनिबार) मेयर शाक्यले असन कमलाक्षी पिलातुं त्वाः दाफा खलको गुठी घर शिलान्यास गरेका हुन्। सो अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु चिनियाँमान बज्राचार्य, न्हुन्छेकाजी महर्जनसहित जनप्रतिनिधि र गुठियारहरु सहभागी थिए।
भवन निर्माणका लागि महानगरले १ करोड रुपैयाँ विनियोजन गरेको छ। सम्पदा तथा पर्यटन विभागले भवन निर्माणका लागि गएको पुस २८ गते कार्यादेश दिइसकेको छ। यसको निर्माण आउँदो पुस मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ।
शिलान्यासपछि बोल्दै मेयर शाक्यले सम्पदा बचाउन महानगरले लगानीमा वृद्धि गरेको बताए। ‘सम्पदा बचाउन महानगरले राज्यकातर्फबाट पैसा दिएका छौँ। यो खर्च होइन। लगानी हो। किनभने यी सम्पदालाई पर्यटन जोडेपछि पैसा फिर्ता आउन थाल्छ,’ उनले भने, ‘हामीले सम्पदालाई पर्यटनसँग जोडेर व्यापारमार्फत स्थानीयबासीको आय बढाउन लगानी गरेका हौं।’
मेयर शाक्यले महानगरको लगानीबाट मूर्तअमूर्त सांस्कृतिक गतिविधिका बीचमा सम्बन्ध बढ्ने र परम्परागत चालचलन पुस्तान्तरणमा सहयोग हुने विश्वास व्यक्त गरे।
मेयर शाक्यले स्थानीय निर्वाचनको प्रसंग जोड्दै समयमा निर्वाचन हुनेमा आफू आशावादी रहेको उल्लेख गरे। ‘स्थानीय तह जनप्रतिनिधिविहिन हुने अवस्थामा पुग्ने छैनन्, यसमा सरकारले सही समयमा निर्णय लिनेछ भन्ने मलाई विश्वाश छ,’ उनले भने।
महानगरले भाषा, लिपि, संस्कार र संस्कृतिको निरन्तरतामा काम गर्दै आएको छ।
कार्यक्रममा उपमेयर खड्गी श्रेष्ठले महानगरले थालेको काम पछि आउने जनप्रतिनिधिहरुले पनि नियमित गर्ने विश्वास व्यक्त गरिन्। ‘हामीले समुदायको हित हुने निर्णय गरेका छौं। त्यस्तै नीति बनाएका छौं,’ उनले भनिन्, ‘बजेट राखेर कार्यक्रम कार्यान्वयनमा ल्याएका छौं। यसरी स्थानीय सरकारको दायित्व पूरा गर्दा गर्दै असल परिणाम आउन थालिसकेका छन्।’
कार्यक्रममा वडाध्यक्षहरु चिनियाँमान बज्राचार्य र न्हुच्छेकाजी महर्जनले भित्री वडामा ढल निकास, सडक र तार व्यवस्थापन, खानेपानी वितरण, विपद व्यवस्थापनजस्ता समान प्रकृतिका काम रहेको र यी कामसँगै स्थानीय परम्परागत जीवनसँग जोडिएका भौतिक अभौतिक सम्पदा बचाउनमा आफूहरु दृढ रहेको बताए।
‘आफ्नै भवन नभएपछि परम्परा धान्न कठिन थियो। महानगरको सहयोगबाट भवन निर्माण हुने भएको छ। यो हाम्रा लागि खुशीको क्षण हो,’ उनीहरूले भने।
त्यस अवसरमा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण महर्जनले महानगरको प्रशंसा गरे। महर्जनका अनुसार उपभोक्ता समितिले जग्गा खरिद गरेर भवन निर्माणका लागि महानगरसँग माग गरेको थियो।











