Kathmandu Press

सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्पगुच्छा अर्पण

काठमाडौं, माघ १५ : सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ।सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन आज (शनिबार) काठमाडौंको पश्चिम विष्णुमती नदीको...
सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्पगुच्छा अर्पण

काठमाडौं, माघ १५ : सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ।

सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन आज (शनिबार) काठमाडौंको पश्चिम विष्णुमती नदीको किनार शोभा भगवतीमा स्थापित ती दुई सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ।

मूल समारोह समितिका संयोजक एवं महानगरका मेयर विद्यासुन्दर शाक्यसहित पदाधिकारीले सालिकमा पुष्पगुच्छा चढाएका हुन्।

सो अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलसहित पदाधिकारी सहभागी थिए। 

नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिदैँ उनीहरुले मृत्यु स्वीकार गरेका थिए। कोभिड संक्रमणका कारण यस वर्ष श्रद्धाञ्जली सभा गरिएको छैन। 

यस वर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु चपलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो। 

श्रेष्ठ र चन्दलाई ज्यानदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको शालिक र पूर्ण कदका सालिक राखिएका छन्। तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो।

त्यस्तै चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी अर्धकदका सालिक स्थापना गराएका हुन्। महानगरले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका सालिक निर्माण गरेको हो। 

हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो। 

त्यसबखत् एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो। ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरूलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो। त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो।

बैतडीमा जन्मिएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा सुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए। त्यस्तै रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लागेका थिए। 

सहिद दिवसको अन्तिम दिन भोलि बिहान ९ बजे सहिद स्मारक लैनचौर स्मृति कार्यक्रम हुनेछ। कार्यक्रममा प्रधानमन्त्रीसहित, सीमित उच्च विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा ज्ञातअज्ञात सहिदको स्मरणमा मौनधारण हुनेछ।

त्यस क्रममा नेपाली सेनाको सानो टुकडीले नेपाली सम्मान गारत चढाउनेछ। भोलि मध्यान्न १२ बजे टुँडिखेलमा सेनाले सहिदको सम्मानमा तोप सलामी अर्पण गर्नेछ। 

प्रकाशित मिति: १३:४८ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्