अपराह्न ४ बजे बस्नेगरी सकियाे सत्तारुढ गठबन्धनको बैठक
स्थानीय निर्वाचनबारे गठबन्धनभित्रका दलहरूबीच रहेको मतभेद हटाई साझा धारणा बनाउन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठक आजै अपराह्न ४ बजे बस्नेगरी सकिएको हो।
काठमाडौं, माघ १५ : स्थानीय निर्वाचनबारे छलफल गर्न आज (शनिबार) बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक अपराह्न ४ बजे फेरि बस्नेगरी सकिएको छ।
स्थानीय निर्वाचनबारे गठबन्धनभित्रका दलहरूबीच रहेको मतभेद हटाई साझा धारणा बनाउन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठक आजै अपराह्न ४ बजे बस्नेगरी सकिएको हो।
आवश्यक तयारी गरेर फेरि बैठक बस्नेगरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।
बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे छलफलको प्रस्ताव राखेको र त्यही विषयमा छलफल भएको उनले जानकारी दिए।
सत्तारुढ गठबन्धनले कानुनविद्हरुसँग पुन: परामर्श गर्ने जनाइएको छ। बिहानको बैठकमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरू सहभागी थिए।
शुक्रबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेर आजका लागि गठबन्धनको बैठक बोलाएका थिए।
गठबन्धनले यसअघि पनि कानुनविद्हरूसँग परामर्श गरेको थियो । त्यसबेला विज्ञहरुले संविधान र ऐनमा स्थानीय निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै संविधानबमोजिम ऐन संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए।
निर्वाचन आयोगले भने वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ।











