Kathmandu Press

मिनि फेवातालका नामले परिचित तालपोखरी

रामपुर, माघ १५ : कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ। दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने आन्तरिक पर्यटकको...
मिनि फेवातालका नामले परिचित तालपोखरी

रामपुर, माघ १५ : कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ। दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने आन्तरिक पर्यटकको सङ्ख्या यहाँ बढ्दो छ।

पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताए।

माघे सङ्क्रान्ति पश्चात् मानिसहरु दिनहुँ बढेको उनले बताए। ताल वरपर डुङ्गामा घुम्न प्रतिव्यक्ति ५० शुल्क लाग्छ। यहाँ हाल काठका दुईसहित तीन वटा डुङ्गा प्रयोगमा ल्याइएको छ। विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउँने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ।

एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचिकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका कामहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ। कोरोना कहरमा केही समय बन्द गरिए पनि अहिले भने नियमित रुपमा डुङ्गा चलिरहेको छ। डुङ्गा सयर गर्न विभिन्न ठाउँबाट मानिसहरु तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारीले बताए।

मानिसको चहलपहल बढ्दै गएपछि हाँसको आकार भएको आठ जना बस्न मिल्ने छानोसहित फाइवरको डुङ्गा एउटा र २३ फिटको छानासहित काठको एउटा डुङ्गा तयारी रहेको उनले बताए। अहिले मिनी फेवातालका रुपमा परिचित बनेको छ, ‘तालपोखरा। पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदिप पाण्डेयले बताए।

प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए। एक दशकदेखि तल्लिन भएर तालपोखराको स्तरोन्नतिमा समितिले भौतिक पूर्वाधारका कामहरु भइरहेको उनले बताए। अध्यक्ष देवकोटाका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ। (रासस)

प्रकाशित मिति: ०८:२६ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्