गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, गोर्खा सैनिकका माग सम्बोधनकाे पहल गर्न आग्रह
काठमाडौं, माघ १४ : गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच (आज) शुक्रबार भेटवार्ता भएको छ।गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा...
काठमाडौं, माघ १४ : गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच (आज) शुक्रबार भेटवार्ता भएको छ।
गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल र बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको थियो।
गृहमन्त्री खाणले गोर्खा सैनिकले उठाइरहेका माग सम्बोधन गरिदिन राजदूत पोलिटसँग आग्रह गरेका छन्। नेपालीहरूले गोर्खा सैनिकको सेवासुविधाको सवालमा उठेका मागहरू सम्बोधनका लागि पहल गर्न आग्रह गरे।
उनले कोभिड–१९ महामारीबाट बच्न खोप वितरणमा बेलायतले पुर्याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे। उनले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकासबारे गरेको सहयोगका लागि पनि कृतज्ञता व्यक्त गरे।
राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्बोधन गर्न पहल गर्ने बताइन्। उनले कोभिड–१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताइन्।
आगामी दिनमा पनि बेलायतले नेपाललाई सहयोग गरिरहने उनले बताइन्।











