‘प्य्राङ्क’ को नाममा भद्दा मजाक गर्ने र गोप्य भिडियो खिच्नेलाई कारबाही हुने
काठमाडौं, माघ १४ : गृह मन्त्रालयले सार्वजनिक स्थलहरुमा भद्दा मजाक, ख्यालठट्टा (प्य्राङ्क)को नाममा गोप्य भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने जोकोहीलाई पनि कारबाही गर्न...
काठमाडौं, माघ १४ : गृह मन्त्रालयले सार्वजनिक स्थलहरुमा भद्दा मजाक, ख्यालठट्टा (प्य्राङ्क)को नाममा गोप्य भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने जोकोहीलाई पनि कारबाही गर्न निदेर्शन दिएको छ।
पछिल्लो समयमा सार्वजनिक स्थलहरुमा प्य्राङ्कको नाममा आम नागरिकलाई सास्ती दिने र गोप्य भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरी व्यक्तिको गोपनीयता र प्रतिष्ठामाथि आँच पुर्याउने क्रियाकलाप बढ्न थालेपछि गृहले यस्तो निर्देशन दिएको हो।
सार्वजनिक स्थलहरुमा गरिएका भद्दा प्रकृतिका मजाक र ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव र उत्पन्न हुनसक्ने वादविवाद र द्वन्द्वले सामाजिक सद्भाव भड्काउने र शान्ति सुव्यवस्थामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै गृहले तत्काल यस्ता कृयाकलापमाथि रोक लगाउन निर्देशन दिएको हो।
त्यस्ता भिडियो खिच्ने र व्यक्तिको अनुमतिबिना सामाजिक सञ्जालमा राख्नेलाई कानूनबमोजिम कडा कारवाही गरिने गृहले चेतावनी दिएको छ।
‘व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमति बिना कुनैपनि प्रकारका तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको सहमतिबिना कुनैपनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जाहरुमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने छ,’ गृहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।












