उपत्यकाका तीन सिडिओको बैठक बस्दै, जोरबिजोर प्रणालीबारे निर्णय गरिने
काठमाडौं, माघ १४ : काठमाडौं उपत्यकामा सवारी साधनमाथि जोरबिजोर प्रणाली लागू गरिएको आज एक साता पुगेको छ। गत शुक्रबार मध्यरातिदेखि उपत्यकामा जोर बिजोर प्रणाली...
काठमाडौं, माघ १४ : काठमाडौं उपत्यकामा सवारी साधनमाथि जोरबिजोर प्रणाली लागू गरिएको आज एक साता पुगेको छ। गत शुक्रबार मध्यरातिदेखि उपत्यकामा जोर बिजोर प्रणाली लागू भएको थियो।
सवारी साधनमा जोरबिजोर प्रणाली र स्मार्ट लकडाउनका विषयमा थप निर्णय गर्नका लागि आज उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ।
बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज मध्याह्न बैठक बस्न लागिएको हो। बैठकले उपत्यकामा जारी स्मार्ट लकडाउन र जोरबिजोर प्रणालीको समिक्षा गर्दै अन्य निर्णयहरु गर्नेछ।
विशेषगरी उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणालीबाट सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी भएको र त्यसबाट कोरोना संक्रमण फैलने खतरा रहेको गुनासो बढेपछि तीन सिडिओहरुले त्यसबारेमा गम्भीर छलफल गर्ने बताइएको छ।
तत्काल जोरबिजोर प्रणाली हटाउन निर्णय भने नहुने ललितपुरका सिडिओ घनश्याम उपाध्यायले बताएका छन्। जोरबिजोर प्रणालीलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए।
अन्य विषयमा थप निर्णय बैठकपछि हुने सिडिओ उपाध्यायले जानकारी दिए।











