क्यानद्वारा सन् २०२२ को केन्द्रीय सम्झौता सार्वजनिक, कुन खेलाडी कुन श्रेणीमा ?
काठमाडौं, माघ १४ : नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लसहित पाँच जना खेलाडीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा...
काठमाडौं, माघ १४ : नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लसहित पाँच जना खेलाडीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा श्रेणी ‘ए’ मा राख्ने निर्णय गरेको छ।
क्यानको बिहीबार बसेको बैठकले पुरुष र महिलातर्फ समान १८ खेलाडीलाई ‘ए’ ‘बी’ र ‘सी’ श्रेणीमा विभाजन गरी केन्द्रीय सम्झौतामा राख्ने निर्णय गरेको हो। पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन्।
त्यस्तै ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी रहेका छन् । त्यसैगरी ग्रेड ‘सी’ मा कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् ।
क्यानले मल्ल, ऐरी, कामी र कमल सिंहलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा नराख्ने यसअघिको निर्णय फिर्ता लिएको छ । ओमान भ्रमणमा रहेका तर अनुबन्ध नरहेका खेलाडी विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
महिलातर्फ ग्रेड ‘ए’ मा कप्तान रुविना छेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी, ग्रेड ‘बी’ मा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहेका छन्। त्यसैगरी ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।
महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने र क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै क्यानले आउँदो फागुन १३ र १४ मा धनगढीमा वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।











