Kathmandu Press

जनशक्ति अभावले यातायात कार्यालयमा ढिलासुस्ती : मन्त्री दाहाल

काठमाडौं, माघ १३ : वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताउनुभएको छ।आज...
जनशक्ति अभावले यातायात कार्यालयमा ढिलासुस्ती : मन्त्री दाहाल

काठमाडौं, माघ १३ : वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताउनुभएको छ।

आज (बिहीबार) ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्ने क्रममा मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन्।

अनुगमनका क्रममा सेवालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिदै उनले आवश्यक सुधारको प्रयास मन्त्रालयले गर्ने बताए। उनले यातायातमा बिचौलियाको बिगबिगीलाई अन्त्य गर्दै सेटिङमा काम हुने अवस्था रोक्नुपर्नेमा जोड दिए।

उनले कर्मचारीलाई बिचौलियलाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिए। ‘पहिलो कुरो त बिचौलियलाई कार्यालयभित्र पस्न नदिनुहोस् भन्छौँ, यदि त्यो भएन भने पुलिस लगाएर भए पनि उनीहरुलाई समाउँछौं र कारबाही गछौं,’ उनले भने, ‘कानुनी कारबाहीमा आएपछि बिचौलियाको विगविगी कम हुने र गलत काम गर्ने कर्मचारी पनि हच्किएर सही बाटोमा आउनेछ।’ 

बिचौलियाले गर्दा कार्यालय नै बदनाम भएको भन्दै यसलाई रोक्न पनि निर्देशन दिइएको उनको भनाइ छ। उनले अहिले पनि कागजी झन्झट देखिएको भन्दै त्यसलाई अन्त्यका लागि देखिएको कानुनी जटिलता हटाउने विश्वास दिलाए।

‘यातायात कार्यालयमा जनशक्ति अभाव, काम गर्ने पुरानो शैली, स्मार्ट लाइसेन्स भने पनि त्यस्तो नभएकोजस्ता अनेक समस्या रहेको पाइयो। सेवाग्राही र कर्मचारीलाई दोष दिन मिल्ने ठाउँ पनि छैन,’ उनले भने, ‘समस्या कहाँबाट सिर्जना भएको हो, त्यसबारे मन्त्रालयमा सचिववसहित बसेर छलफल गरी समस्याको समाधानका लागि चाँडै पहल गर्नेछु।’       

अनुगमनका क्रममा मन्त्री दाहालले सेवाग्रहीसँग छलफल गर्दै देखिएका समस्याबारे जानकारी लिएका थिए। सेवाग्राहीले घन्टाैं लाइन बस्दा पनि सहज रुपमा सेवा नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए। 

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्