गृहमन्त्री खाणको पहलमा बेमाैसमी वर्षा पीडितहरूलाई राहत
काठमाडौं, माघ १३ : गृहमन्त्री बालकृष्ण खाणको पहलमा २९ बढी जिल्लामा रहेका बाढी, पहिरो र बेमौसमी वर्षा पीडितहरूलाई राहत सामग्री उपलब्ध गराइएको छ।अन्तराष्ट्रिय मानवतावादी...
काठमाडौं, माघ १३ : गृहमन्त्री बालकृष्ण खाणको पहलमा २९ बढी जिल्लामा रहेका बाढी, पहिरो र बेमौसमी वर्षा पीडितहरूलाई राहत सामग्री उपलब्ध गराइएको छ।
अन्तराष्ट्रिय मानवतावादी संस्था चुजी फाउन्डेसनको १७ लाख अमेरिकी डलर सहयोगमा राहत सामग्री वितरण गरिएको हो।
झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा राहत वितरण गरिएको हो।
‘गृहमन्त्रीज्यूको पहलमा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा रुपन्देही जिल्लामा राहत वितरण कार्य भइरहेको छ,’ राहत वितरणको संयोजन गरेका सञ्जिव बस्यालले जानकारी दिए ।
रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका १ हजार ४५६ परिवारलाई राहत सामाग्री उपलब्ध गराउने लक्ष्य छ । जसमध्ये १ हजार ३ सयभन्दा बढी परिवारलाई राहत वितरण भइसकेको छ।

रुपन्देहीको अब देवदह नगरपालिकामा मात्र राहत सामग्री वितरण गर्न बाँकी छ। नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएपछि राहत वितरण कार्य स्थगन गरिएको थियो।
स्थानीय तहले सूचीकृत गरेका पीडितहरुलाई राहत सामग्री वितरण गरिएको बस्याले जानकारी दिए। एउटा परिवारलाई २५ केजी चामल, १० केजी आटा, १ किलो दाल, १ किलो चना, १ किलो चिनी, १ किलो नुन, साबुन, २/३ वटा ब्लैङ्केट लगायतका सामाग्री उपलब्ध गरिएको छ।
मन्त्री खाणले चिनेजानेका प्रकोप तथा विपद्का क्षेत्रमा लामो अनुभव प्राप्त गरेका व्यक्तिहरूलाई बेमौसमी वर्षाका कारण पीडित बनेकाहरूलाई सहयोग गर्न आग्रह गरेका थिए। उनीहरूले चुजी फाउन्डेसनसँग कुरा गरेपछि फाउण्डेसनले १७ लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यही प्रतिबद्धताअनुरुपको सहयोग अहिले वितरण भइरहेको हो।
चुजी फाउण्डेसनले सहयोग उपलब्ध गराएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राहत सामाग्री वितरणमा सहजकर्ताको भूमिका निर्वाह गरिरहेको छ।











