महासचिवका दाबेदार जनार्दन शर्मा र वर्षमान पुनबीच भेटवार्ता
काठमाडौं, माघ १३ : नेकपा माओवादी केन्द्रको महासचिव दाबी गरिरहेका दुई प्रभावशाली नेताहरुबीच भेटवार्ता भएको छ। बुधबार साँझ नेताहरु वर्षमान पुन र जनार्दन शर्माबीच...
काठमाडौं, माघ १३ : नेकपा माओवादी केन्द्रको महासचिव दाबी गरिरहेका दुई प्रभावशाली नेताहरुबीच भेटवार्ता भएको छ। बुधबार साँझ नेताहरु वर्षमान पुन र जनार्दन शर्माबीच भेटवार्ता र सामान्य छलफल भएको हो।
चीनमा स्वास्थ्योपोचार गरी फर्किएका पुनले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफू महासचिवको दाबेदार रहेको बताएका थिए। उनले पार्टीभित्र सचिव भएर काम गरिसकेका कारण स्वाभाविक रुपमा महासचिवमा दाबी रहने बताएका थिए।
अध्यक्ष प्रचण्ड भने सहमति गरेर पदाधिकारी चयन गर्नुपर्ने पक्षमा छन् । वर्षमान पुन र जनार्दन शर्माबीच सहमति नभएको अवस्थामा प्रचण्डले देव गुरुङलाई महासचिवको प्रस्ताव गरेका छन्।
बुधबारको भेटवार्तामा महासचिवको विषयमा पनि शर्मा र पुनबीच सामान्य छलफल भएको बताइएको छ।
जनार्दन शर्माले अडान जारी राखेको अवस्थामा वर्षमान पनि पछि नहट्ने तयारीमा छन्। दुबैले दाबी नछाडे निर्वाचन हुने पक्का छ। पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई छ। केन्द्रीय कमिटी समेत अहिले सम्म पूर्णरुपमा टुंगो लागिसकेको छैन।
माओवादी केन्द्रले बाँकी रहेको केन्द्रीय कमिटी र पदाधिकारीको टुंगो लगाउनका लागि माघ २७ गते बैठक बोलाएको छ।











