राष्ट्रियसभा निर्वाचन : गण्डकीमा दुईजनाले गरेनन् मतदान
पोखरा, माघ १२ : राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय पोखरामा आज (बुधबार) भएको निर्वाचनमा स्थानीय तहका २ जनप्रतिनिधिले मत खासलेनन्।तर...
पोखरा, माघ १२ : राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय पोखरामा आज (बुधबार) भएको निर्वाचनमा स्थानीय तहका २ जनप्रतिनिधिले मत खासलेनन्।
तर प्रदेश सभा सदस्यहरूको भने शतप्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। मतदानमा सहभागी नहुनेमा बागलुङको बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का र मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट रहेको जनाइएको छ।
खड्का राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयरमा निर्वाचित भएका हुन्। पार्टीकै निर्देशनअनुसार उनी मतदानमा सहभागी नभएको अनुमान गरिएको गरिएको छ। स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित गाउँपालिका अध्यक्ष विष्ट भने नेपालबाहिर रहेको जनाइएको छ। अहिले उनी नेकपामा प्रवेश गरेको जनाइएको छ।
राप्रपाबाटै निर्वाचित म्याग्दीको बेनी नगरपालिकाकी उपमेयर सन्जु बरुवाल भने पार्टीको निर्देशनको अवज्ञा गर्दै मतदानमा सहभागी भएको जनाइएको छ।
गण्डकी प्रदेशमा स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी १ सय ७० मतदाता रहेकोमा १६८ मत खसेको हो। प्रदेशसभाका ५९ सांसद भने सबैले मतदान गरे।
आवश्यक प्रक्रिया पूरा गरेरकेही बेरमा मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। तीन ३ सदस्यका लागि सत्तापक्षीय गठबन्धन र एमालेका गरी ६ जनाले उम्मेदवार चुनावी मैदानमा छन्।











