राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा क–कसले गरेनन् मतदान ?

काठमाडौं, माघ १२ : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ मा मतदान सम्पन्न भएको छ। विराटनगरस्थित प्रदेश निर्वाचन कार्यायमा बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदानको समय सकिँदा ९१ सांसद र २७० स्थानीय जनप्रतिनिधिले मतदान गरेका छन्।
एक सांसदसहित ३ जना प्रतिनिधि भने मतदानमा सहभागी भएनन्। प्रदेश निर्वाचन आयोगका अनुसार प्रदेश सांसद गुलेफुन खातुन, विराटनगरकी उपमेयर इन्दिरा कार्की र झापाको गौरिगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ मतदान गर्न नआएका हुन्।
उपमेयर कार्की विरामी भएका कारण मतदानमा उपस्थित हुन नसकेको बताइएको छ। त्यस्तै खातुन फौजदारी मुद्दाका फरार प्रतिवादी हुन् । श्रेष्ठ भने छोरीको विवाहका लागि काठमाडौंमा छन् ।
प्रदेशमा कुल ९२ सांसद र २७२ स्थानीय सरकारका प्रमुख र उपप्रमुख छन्। मतदान सम्पन्न भएलगत्तै छलफल गरी मतगणना सुरु गरिने प्रदेश निर्वाचन आयोगका कार्यालय प्रमुख लेवन कास्यप अधिकारीले जानकारी दिएका छन्।
प्रदेश १ मा तीन पदका लागि आठ जना उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली काङ्ग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसङ्ख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई छन् ।
नेकपा एमालेको तर्फबाट खुल्लातर्फ मोरङका गुरू बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन् । राप्रपाको तर्फबाट झापाका अमरबहादुर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवार छन् ।











