Kathmandu Press

दुबई जाने यात्रुको पीसीआर परीक्षण गर्न ३ प्रयोगशालालाई मात्र अनुमति

काठमाडौं, माघ १२ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित १२ वटा प्रयोगशालामध्ये तीनवटाले मात्र परीक्षण अनुमति पाएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार गरेको अनुगमनमा सुमेरु अस्पताल...
दुबई जाने यात्रुको पीसीआर परीक्षण गर्न ३ प्रयोगशालालाई मात्र अनुमति

काठमाडौं, माघ १२ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित १२ वटा प्रयोगशालामध्ये तीनवटाले मात्र परीक्षण अनुमति पाएका छन्। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार गरेको अनुगमनमा सुमेरु अस्पताल प्रालि, स्टार अस्पताल मोलिक्युलर ल्याब र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले सञ्चालन गरेको ल्याबले मात्र अनुमति लिएको पाएको हो।

अन्य नौ वटा प्रयोगशालाले कलेक्सन सेन्टरका रुपमा मात्र काम गरेको पाइएकाले उक्त कार्य नगर्न अनुगमन टोलीले निर्देशन दिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक सूचना जारी गर्दै कोभिड–१९ पीसीआर परीक्षणका लागि कलेक्सन सेन्टर मात्रै चलाउने प्रावधान नरहेको र अन्य प्रयोगशालाहरुले विमानस्थल परिसरमा कलेक्सन सेन्टरको रुपमा मात्रै कार्य गरिरहेको पाइएकाले आजकै मितिदेखि उक्त कार्य नगर्न नगराउन निर्देशन दिएको छ। 

उक्त सूचनामा स्थलगत निरीक्षणमा सुमेरु अस्पताल, स्टार अस्पताल र महेन्द्र नारायण निधी अस्पतालले चलाएका प्रयोगशालाले मात्रै सोही स्थानमा कोभिड–१९  परीक्षण गर्ने पाइएकाले उक्त प्रयोगशाला स्वीकृत कार्यविधि बमोजिम उक्त स्थानमा युएई जाने यात्रुहरुको कोभिड–१९ परीक्षण गर्न अनुमति प्रदान गरिएको उल्लेख छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको यो निर्णयसँगै अबदेखि विमानस्थलमा कलेक्सन सेन्टरका रुपमा रहेका टिजी मेडिसिन डिस्टिव्युटरस, क्रिस्टल डाइग्नोस्टिक प्राली, अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक, क्लिनिकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना टे«डिङ कम्पनी, सिद्धि पोलिक्लिनिक, विध ल्याब लगायतले पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न पाउने छैनन्।

विमानस्थल परिसरमा परीक्षण गरिएको ४ घण्टाभित्रको रिपोर्ट यूएई जाने यात्रुका लागि मात्र आवश्यक रहेको भन्दै जनस्वास्थ्य प्रयोगशालाले सबैले देख्ने ठाउँमा ‘यूएई जाने यात्रुहरूका लागि मात्र’ लेख्न पनि आग्रह गरेको छ।


 

प्रकाशित मिति: १५:१२ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्